इंग्लिस प्रिमियर लिग फुटबल : लिभरपुल र चेल्सी विजयी

एजेन्सी

सोमबार, १२ बैशाख २०७९, ०८ : ०८
इंग्लिस प्रिमियर लिग फुटबल : लिभरपुल र चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।

पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन  एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औं मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए ।  ८५औं मिनेटमा ओरिगीले गोल गर्दै  सहज जित दिलाए ।

जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ  र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ । ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गर्‍यो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९०औं मिनेटमा गोल गरे । 

क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम ८६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै चेल्सी ३२ खेलमा ६५ अंक जोडेर तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस