चालु आवको चैत मसान्तसम्म ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १६ : ४५
चालु आवको चैत मसान्तसम्म ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता

काठमाडौं ।उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको बताएका छन्।

महानिर्देशक तिवारीले चालु आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्म विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाहरु प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको बताएका हुन्।उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ। गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले बताएको छ।

उनले उद्योग विभागमा दर्ता प्रक्रियालाई नियाल्दा क्रमशः उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बढिरहेको बताए। महानिर्देशक तिवारीले विस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबीसमेत गरउनले स्वदेशी लगानीका उद्योगहरु चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योग विभागमा दर्ता भएको बताए। महानिर्देशक तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको बताए।

महानिर्देशक तिवारीले भने, ‘कोरोना भाइरसको असर सबै क्षेत्रमा परेको छ। उद्योगधन्दा, लगानी क्षेत्रलाई पनि यसले ठूलो नोक्सान पुर्‍याएको छ। विस्तारै अब हामी यसबाट बाहिर निस्किँदै छौँ। उद्योग विभागको हिसाबले हेर्दा अहिले उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम विस्तारै बढ्दो छ। यो वर्ष हामीले हालसम्म करिब ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता र त्योसँग सम्बन्धित भएर १५५ वटा विभिन्न परियोजनाहरुमा प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको अवस्था छ।’

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत इनर्जी बेसमा रहेको र लगभग २२ प्रतिशत उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रमा रहेको बताए।

उनले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाइ उद्योगहरु सर्भिस सेक्टरमा र म्यानुफ्याक्चरिङ क्षेत्रमा करिब २३ प्रतिशतमात्र रहेको बताए। महानिर्देशक तिवारीले उत्पादनमूलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा उद्योगको संरचनाभित्र बढाउन नसकेको पनि बताए।

महानिर्देशक तिवारीले उद्योग संरचनालाई बलियो बनाउन बनाइएको एकलबिन्दु सेवाकेन्द्रबाट अपेक्षाकृत रुपमा सेवा प्रवाह गर्न नसकेको बताए।

प्रतिक्रिया दिनुहोस