दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान सुरु

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १२ : ४९
दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान सुरु

पोखरा । स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्‌वार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ । पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले अटेरी अभियानबाट उम्मेद्‌वारी घोषणा गरिसकेका छन् ।

साहित्यकार तथा लेखक गनेश पौडेलले अघिल्लो स्थानीय निर्वाचनपछि स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्ने एजेण्डा स्थापित गर्ने सोच बनाए । त्यसपछि निरन्तर नजिकका साथीहरूसँग छलफल गरेर पोखरा महानगरपालिकामा आफैंले मेयर पदको उम्मेद्‌वारका रूपमा घोषणा गरे ।

‘४/५ वर्षदेखि मैले यसको डिजाईन गरिरहेको थिएँ । दलका भ्रष्ट नेताहरू विरुद्ध आवाज कसरी उठाउने भनेर धेरै सोचे । त्यही सोचको उपज हो, अटेरी अभियान,’ उनले भने, 'आज देशभर नराम्रा कुरामा हाम्रा साथीहरूले अटेर गर्नुभएको छ । दलहरूलाई प्रेसर बढेको छ ।’

अहिले देशभर चार हजार  दुई सय ८७ जनाले अटेरी उम्मेद्‌वारी घोषणा गरिसकेका छन् । पोखरा महानगरपालिकाभित्रै १५ वटा वडामा अध्यक्षका उम्मेद्‌वार निस्किएका छन् भने कास्कीका अन्य पालिकामा पनि उम्मेद्‌वारी घोषणा भइसकेको छ । अटेरी उम्मेद्‌वारहरूले भूगोल र परिस्थिति अनुसारको कार्ययोजनापत्र सार्वजनिक पनि गरिरहेका छन् । दुई साताअघि पोखरामा देशभरका अटेरी उम्मेद्‌वारहरू भेला भएर एकीकृत घोषणापत्र सार्वजनिक गरेका थिए।

‘जनप्रतिनिधि भनेको इमान्दार हुनुपर्छ । आफ्नो पालिकालाई के बनाउने भन्ने बुझ्न सक्ने हुनुपर्छ,’ पौडेल भन्छन्, ‘पैसाका भरमा जस्ताले पनि चुनाव जित्ने हुँदा हाम्रो भविष्य नै बर्बाद भयो । हामीले उनीहरूलाई अटेर गर्‍यौं ।’ तर अहिले दलहरूलाई पनि राम्रो उम्मेद्‌वार उठाउनुपर्ने दबाब सिर्जना भएको उनी बताउँछन् ।

‘मेरो पार्टीको उम्मेद्‌वार राम्रो नभए गनेशले भोट काट्छ भन्ने सबैलाई लागेको छ । राम्रो उम्मेद्‌वार खोजिरहेका छन्,’ उनले थपे, ‘हामी सही बाटोमा छौं । पहिले जे गर्न खोजेका थियौं अहिले त्यही भइरहेको छ ।’

पार्टीका उम्मेद्‌वारहरूले भेला, जुलुस, आमसभा, कार्यकर्ता भेटघाट, चुनावको नाममा जे पनि गर्न पैसाको खोलो बगाउन थालेकोले भ्रष्टाचार बढेको भन्दै इमान्दार र राम्रा उम्मेद्‌वारले विना पैसा चुनाव जित्ने आधार निर्माण गर्न अभियानको थालनी गरिएको पौडेलले बताए । अटेरी अभियानले आमसभा र र्‍याली नगर्ने घोषणा गरिसकेको छ ।

मतदातासम्म पुग्न प्रविधिको प्रयोग गर्ने र चोकचोकमा पुगेर मतदातालाई घोषणापत्र बेच्ने कामको सुरुवात गरिएको छ । चुनावी खर्च चलाउनका लागि ३० रुपैयाँमा घोषणापत्र बेच्ने काम थालिएको अभियानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस