पल शाह प्रकरणमा ट्वीस्ट : पीडितले किन फेरिन् बयान ?

पत्रपत्रिकाबाट

सोमबार, ०५ बैशाख २०७९, ०८ : २८
पल शाह प्रकरणमा ट्वीस्ट : पीडितले किन फेरिन् बयान ?

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाले नयाँ मोड लिएको छ । पीडित भनिएकी नाबालिगले अदालतमा बकपत्रमा बयान दिँदा आफूलाई पल शाहले बलात्कार नगरेको भनी बयान दिएकी छन् ।

पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । पीडित नाबालिगले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा आफूले दबाबमा आएर जोहरी दिएको र प्रहरी आफंैले बयान लेखेको बताएकी छन् ।

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित भएका थिए । तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । दुवै घटनाको पीडित उही नाबालिग थिइन् ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन् । पुनरावेदन निवेदनमाथिको सुनुवाइको पर्खाइमा छन् ।

नाबालिगले अदालतमा बयान फेरे पनि केही समयअघि उनले पल शाहविरुद्ध जाहेरी दर्तापछि ग्यालेक्सी टेलिभिजनको एक अन्तर्वार्तामा आफूमाथि बलात्कार भएको जिकिर गरेकी थिइन् । तर, आइतबार अदालतमा नाबालिगपक्षसँग बयान लिँदा आफू अरूको उक्साहटमा लागेर जाहेरी दिएको बताएकी छन् । साथै उनले बयानमा आफ्नो मानसिक अवस्था ठीक नभएको र प्रहरीमा के भनेर बयान दिए आफंलाई थाहा नभएको बताएकी छन् ।

यसअघि उनै पीडित नाबालिगले नवलपुर जिल्ला प्रहरी कार्यालय र तनहुँ जिल्ला प्रहरी कार्यालयमा बयान दिँदा आफू बलात्कृत भएको बयान दिएकी थिइन् । पलले समेत आफू बियर खाएर नाबालिगको कोठामा प्रवेश गरेको र प्रेमीप्रेमीकाबीच सम्बन्ध हुनु सामान्य भएको अडियो टेपलाई अदालतले प्रमाणका रूपमा स्वीकारेको थियो । सो प्रमाणलाई समेत आधार बनाएर अदालतले पल शाहलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

पीडित नाबालिगले बयान फेरेसँगै अब यो मुद्दा कमजोर हुने देखिएको छ । तर, न्यायाधीशलाई नाबालिग ‘होस्टाइल’ भएको लागेमा अनुसन्धान अधिकारीसँग गरेको बयान, स्वास्थ्य परीक्षण रिपोर्ट, पीडकले अदालतमा दिएको बयान र अडियो टेपलाई समेत प्रमाण लिएर मुद्दाको फैसला गर्न सक्ने आधार भने रहनेछ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस