जसपा अध्यक्षद्वय भट्टराई र यादवले भेटे प्रचण्डलाई

सफल खबर संवाददाता

आइतबार, ०४ बैशाख २०७९, १४ : ५५
जसपा अध्यक्षद्वय भट्टराई र यादवले भेटे प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्  अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा तीन नेताबीच बिहान साढे ११ बजेतिर भेटघाट भएको बाबुरामको सचिवालयले जनाएको छ । 

स्थानीय निर्वाचनमा जसपालाई माओवादीले निषेध गरेको भन्दै बाबुराम र उपेन्द्रले प्रचण्डसँग गुनासो गरेका छन् । पाँच दलीय चुनावी तालमेलमा माओवादीले निषेध गरेपछि सहज वातावरण बनाउने विषयमा तीन नेताबीच छलफल भएको बताएको छ । 

यदि नेपाली काँग्रेससँग सबै स्थानीय तहमा चुनावी तालमेल हुने स्थिति नभएमा जसपा र माओवादीले एक आपसमा सघाएर जाने वातावरण मिलाउने बारेमा समेत छलफल भएको बुझिएको छ । जसपा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएका तर अन्य जिल्लामा कमजोर भएकाले त्यसमा माओवादीले निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस