देउवा, पौडेल र कोइरालालाई भेटेर फर्किए चितवनका नेता

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, १४ : ४६
देउवा, पौडेल र कोइरालालाई भेटेर फर्किए चितवनका नेता

काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका कांग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् । 

नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठसहितको टोली आएको थियो । भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका कांग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए । ‘कांग्रेस ठूलो दल हो भरतपुरमा । फेरि, आलोपालो गर्ने भन्ने पनि थियो पहिलो । त्यही भएर हामीले दुई तर्कलाई अघि सारेर कांग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भनेका हौँ’, कोइरालाले  भने ।

भरतपुर महानगरपालिका पाउनुपर्ने ‘बटमलाइन’ २० चैतमा बसेको कांग्रेस चितवनको बैठकले निर्णय गरेको थियो । हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी कांग्रेसी नेताहरूले दिँदै आएका छन् । 

माओवादी केन्द्र पनि महानगर प्रमुख आफूले पाउने गरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस