कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

एजेन्सी

शुक्रबार, २५ चैत्र २०७८, १२ : १५
कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

एजेन्सी । कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो ।

बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिए । उनले भने – घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उनले दिए ।

मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । यस विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै सो विस्फोटबारे केही भन्न नसकिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस