एजेन्सी । विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमणलाई 'अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल' घोषणा गरेको छ।
पूर्वी कंगोको इतुरी प्रान्तमा फैलिएको यो प्रकोपका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना संक्रमित भएको आशंका गरिएको छ।
संगठनका अनुसार यो प्रकोप 'बुन्डिबुग्यो' प्रजातिको भाइरसका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै पनि प्रमाणित खोप वा औषधि उपलब्ध छैन। यो भाइरस कंगोको राजधानी किन्सासा र विद्रोहीको नियन्त्रणमा रहेको गोमा सहरसम्म पुगिसकेको छ।
संक्रमण छिमेकी मुलुक युगान्डामा समेत फैलिएको पुष्टि भएको छ, जहाँ एक ५९ वर्षीय संक्रमितको मृत्यु भएको छ।
यसैगरी, रुवान्डाले पनि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य जाँचमा कडाइ गरेको छ।संक्रमित व्यक्तिमा सुरुमा ज्वरो आउने, मांसपेशी दुख्ने, थकान महसुस हुने र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन्। रोग बढ्दै जाँदा वान्ता हुने, पखाला लाग्ने र शरीरका अंगहरूबाट रक्तश्राव हुने गर्दछ। यो भाइरस संक्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको माध्यमबाट सर्ने गर्दछ।
कंगोमा जारी सुरक्षा संकट, खानी क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत र सहरी क्षेत्रमा संक्रमण देखिएकाले यो अझै भयावह हुन सक्ने चेतावनी संगठनले दिएको छ। इबोला पहिलो पटक सन् १९७६ मा कंगोमै फेला परेको थियो भने यो देशमा देखिएको १७औँ प्रकोप हो।
यसअघि सन् २०१८ देखि २०२० को बीचमा भएको प्रकोपमा करिब २,३०० जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्यो विश्व स्वास्थ्य संकटकाल
कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु
कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता