काठमाडौँ । २२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरे र भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइकोे । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ ।
फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न हिँडे । जाँदै गर्दा राजेन्द्रसँग उनको भेट धनगढीा–२ बेहडीको रुवस होटल नजिक भयो । २४ वर्षीय राजेन्द्र से १ ह २८६६ नम्बरको अटोका चालक पनि हुन् । अटो रोकेर होटल नजिकैको कटेजमा ५०÷५० रूपैयाँको मदिरा दुवैले खाए ।
त्यसपछि राजेन्द्रको कोठा धनगढी–५ सन्तोषी टोल हुँदै लागे, दुवै जना । रातको त्यस्तै ८ : ३० बजेको थियो । उनीहरू प्रदेशसभा भवन अगाडि पुगे । जहाँ राजेन्द्रले चलाएको अटोलाई कुलदीप गुप्ताले रोके । उनी जाने चाहिँ जालीगाउँ हो ।
राजेन्द्रले भनेः भाडा ५० रूपैयाँ लाग्छ है ।
कुलदिपले भनेः हुन्छ ।
केही सयममै उनीहरू पुगे, नैनादेवी चोक । त्यहाँदेखि अगाडि बढ्दै गर्दा राजेन्द्रले कुलदिपसँग भाडा मागे ।
जवाफमा कुलदिपले हिन्दीमा भने,– ‘मे अटोका भाडा नही दुङ्गा, तुम जो करो ।’
यसपछि उनीहरूबीच विवाद भयो । विवाद गर्दै केराबारी पुगे । जुन धनगढी उपमहानगरपालिका–५ मा पर्छ ।
त्यहाँ पुगेपछि भाडा नदिए ओर्लिन कुलदिपलाई भने । तर, मानेनन् ।
नमानेपछि अटोदेखि झार्न खोज्दा भूपेन्द्र र कुलदिपबीच हातहालाहाल भयो । राजेन्द्रले कुटे कुलदिपलाई । त्यहीबेला अटोको पछाडि भागमा रहेको काठको मुङ्ग्रो ल्याइ भूपेन्द्रले कुलदिपको छाती र पेटमा ५÷६ पटक प्रहार गर्दा सडक छेउ नालीमा ढलेको भूपेन्द्रले प्रहरीसँगको बयानमा भनेका छन् ।
त्यसपछि फेरि नालीमै गएर अनुहार र टाउमा त्यही मुङ्ग्रोले पटकपटक प्रहार गरेको पनि बयानमा उल्लेख छ । कुलदिपको हत्या घटना भने २३ फागुनको बिहान मात्र सार्वजनिक भएको हो । सडक छेउ नालीमा शव देखेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा भूपेन्द्र र राजेन्द्र मुछिएको पाएपछि प्रहरीले दुवैलाई २७ फागुनमा सन्तोषी टोलबाट पक्राउ गरेको हो । कैलाली प्रहरीले अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कैलालीले सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ ।
अभियोग पत्रमा भूपेन्द्र र राजेन्द्रलाई मुलुकी अपराध संहिता – २०७४ को ज्यानसम्बन्धी कसूरको उपदफा (२) अनुसार न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीले जन्मकैदको मागदावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ चैत्र २०७८, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अंश विवादमा देवरद्वारा भाउजूको हत्या
भोजपुरमा ४ जनाको सामूहिक हत्या
बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
ज्वाइँले गरे ससुराको हत्या
८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ