चीनको सिपिङ सिटी र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

सोमबार, ३१ बैशाख २०७५, १४ : ५१
चीनको सिपिङ सिटी र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

सुरेशचन्द्र अधिकारी
सिपिङ (चीन) । छिमेकी मित्रराष्ट्र चीनको जिलिन प्रान्तमा रहेको सिपिङ सिटी र नेपालको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सिपिङ सिटीका प्रमुख गुओ लिङ्जी र भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार चीनको सिपिङमा दुई नगरबीच मैत्रीपूर्ण र समन्वयात्मक सम्बन्ध स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएपछि भगिनी सम्बन्ध कायम भएको हो ।
चारबुँदे सम्झौतापत्रमा अर्थतन्त्र, व्यापार, विज्ञान तथा प्रविधि, सँस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, जनशक्ति लगायतका क्षेत्रमा साझा समृद्धि र विकासको प्रवद्र्धन गर्न समानता र आपसी लाभको सिद्धान्तका आधारमा दुई पक्षबीच सहयोग आदानप्रदान र समन्वय गरिने उल्लेख छ । हस्ताक्षर भएको मितिले पाँच वर्षको लागि सम्झौता कायम रहने छ । साझा चासोका विषयमा द्विपक्षीय सहजीकरणका लागि नियमितरुपमा सम्पर्क कायम गरिने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौतापत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्नुहुँदै भरतपुर महानगर प्रमुख रेनु दाहालले आउँदो दस वर्षमा पूर्वाधार, सामाजिक तथा सेवा क्षेत्रमा उल्लेखनीय लगानी गरी विश्वस्तरको नगरको रुपमा भरतपुरलाई विकास गर्ने लक्ष्य लिइएको बताउनु भयो । यसका लागि लगानीमैत्री नीतिको निर्माण गरी लगानीको वातावरण सिर्जना गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने बताउँदै उहाँले सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाई बस्नयोग्य शहरको रुपमा भरतपुरको विकास गरिने बताउनु भयो ।


‘चिनियाँ क्रान्तिपश्चात चीनले गरेको विकास र आर्थिक समृद्धिजस्तै नेपालमा पनि राजनीतिक परिवर्तनपछि स्थायित्व र समृद्धिको प्रकृया सुरु भएको छ’ दाहालले भन्नुभयो, ‘गत वर्ष स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भरतपुर महानगरपालिकामा विकास र समृद्धिका कार्यक्रम तीब्ररुपमा सञ्चालन हुँदैछन् । सिपिङ सिटी र समग्र चीनको विकास र समृद्धिले हामीलाई पनि विकासका लागि उत्प्रेरित गरेको छ ।’
भरतपुर महानगर प्रमुख दाहालले दुई शहरबीच कायम भएको भगिनी सम्बन्धले नेपाल र चीनबीचको सम्बन्ध अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भरतपुर महानगरको आर्थिक विकासका आधारहरु शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासमा लगानी गर्न सिपिङ सिटीका निजी क्षेत्र र चिनियाँ सरकारसँग आग्रह गर्नुभयो । महानगर प्रमुख दाहालले सिपिङ सिटी प्रमुख लिङ्जीलाई भरतपुरमा स्वागत गर्ने अपेक्षा प्रकट गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस