त्रिकोणात्मक टी–२० : मलेसियाद्वारा पपुवा न्यूगिनीलाई १ सय ८१ रनको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १४ : २४
त्रिकोणात्मक टी–२० : मलेसियाद्वारा पपुवा न्यूगिनीलाई १ सय ८१ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनी (पीएनजी)लाई १ सय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

मलेसियाका लागि कप्तान अहमद फैज र विरानदीप सिंहले अर्धशतक बनाए । फैजले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५६ रन जोडे भने सिंह ५९ रनमा नटआउट रहे ।

५२ बलको सामना गरेका उनले २ चौका र २ छक्का हिर्काए। यस्तै सइद अजिजले ४७ रनको योगदान दिए । बलिङतर्फ पीएनजीका नोरमान भानुले २ र नोसाइना पोखनाले एक विकेट लिए ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पीएनजी सोमबार नेपालसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस