प्रधानमन्त्री देउवाको भारत भ्रमण : प्रमुख चासो के छ ?

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १० : ४४
प्रधानमन्त्री देउवाको भारत भ्रमण : प्रमुख चासो के छ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन्। गत पुसमा नै उनको भारत भ्रमणको तयारी भएको भए पनि कोरोना महामारीका कारण रोकिएको थियो। प्रधानमन्त्री भए लगत्तै भारत जाने प्रचलन रहँदै आएको भए पनि देउवा साढे आठ महिनापछि भारत भ्रमणमा निस्कदैछन्।

उनी दिल्लीमा रहँदा राष्ट्रपति रामनाथ कोविन्ददेखि प्रधानमन्त्री नरेन्द्रम मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ।

भारतको सुरक्षा चासो र नेपालको आर्थिक लगायतका विषय भ्रमणका महत्पूर्ण विषय भएको जानकारहरु बताउँछन्। नेपाल भारत सम्बन्धमा पछिल्ला समयमा देखिएका उतारचढावलाई बुझाइका आधारमा समाधान गर्न समेत भ्रमण महत्वपूर्ण हुने छ।

नेपालमा बढीरहेको चिनियाँ प्रभावमा समेत भारतको चासो रहन सक्नेछ। नेपालमा बढ्नो चिनियाँ प्रभावले भारत सुरुदेखि नै सशंकित छ। उसले प्रधानमन्त्रीको भ्रमणको क्रममा अनौपचारिकरुपमा यसमा पनि चासो राख्न सक्ने परराष्ट्र मामलाका जानकारहरु बताउँछन्।

यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री देउवा शुक्रबार साँझ नेपाली राजदूतावासमा आयोजित समारोहमा उपस्थित हुनेछन्। त्यहाँ उनले नेपाली समुदाय, भारतका विभिन्न राजनीतक दलका नेताहरु, नागरिक समाजका अगुवा र नेपालप्रति सद्भाव राख्ने मित्रहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ।

शनिबार भारतीय सेनाको गार्डअफ अनर लिएर उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। शनिबार नै उनले भारतीय विदेशमन्त्री डा। एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शिष्टाचार भेट गर्नेछन् । 

शनिबार नै भारतीय प्रधानमन्त्री मोदीसँग देउवाको हैदराबाद हाउसमा भेटवार्ता हुने कार्यक्रम तय छ।हैदरावाद हाउसमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तासमेत हुने छ। त्यसपछि समझदारी पत्रमा हस्ताक्षर हुनेछ। त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। 

शनिबार नै देउवा वाराणसी पुग्नेछन्। आइतबार प्रधानमन्त्री स्वदेश फर्किने छन्।

एजेण्डा के छन् ?

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले जयनगर–जनकपुर रेल्वेको भर्चुअल उद्घाटन गर्दैछ छन्। हैदराबाद हाउसबाट शनिबार प्रधानमन्त्री देउवा र मोदीले स्विच थिचेर रेलसेवा उद्घाटन गर्दैछन्।

वर्खामा वर्षेनी तराई क्षेत्रमा हुने डुवानबारे पनि छलफल हुँदैछ। दुई देशबीच बाढी र डुबान नियन्त्रणका विषयमा पनि भ्रमणमा छलफल हुनेछ।वर्खामा बढी हुने विद्युत् खरिद गर्न भारतलाई नेपालले आग्रह गर्ने परराष्ट्र स्रोतले बताएको छ। सीमापार रेलमार्ग, रक्सौल–काठमाडौं रेलमार्गका विषयमा पनि छलफल गरिने छ। ‍

पञ्चेश्वर परियोजना र इपीजीको प्रतिवेदनबारे पनि भ्रमणको क्रममा नेपाली पक्षको चासो रहनेछ।यस्तै नेपालको ल्याबबाट गुणस्तर प्रमाणित भएका अदुवा, अलैँचीलगायतका उत्पादन भारतीय बजारमा निर्वाध प्रवेशका लागि नेपालले आग्रह गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस