कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १७ : ३१
कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए । 

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’

नेता शेखर कोइरालाले गठबन्धन गर्न नहुने भन्दै आफ्नो विचार राखेपछि देउवाले प्रतिक्रिया दिएका हुन् ।बैठकमा सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर नहुनेमा जोड दिए । ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन,’ उनले भने, ‘त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

उनले अब आफू पार्टी सभापति विधानतः हुन नमिल्ने भन्दै मिलेर अघि बढ्न आग्रह गरे । ‘साथीहरू, मेरो आइडियोलोजीमा शंका नगर्नुहोस् । म धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने पनि होइन, तपाईंहरु जो–जो हुने हो, मिलेर अघि बढ्नुस् ।’

प्रतिक्रिया दिनुहोस