महिला लिग फुटबल : धनगढीको लगातार दोस्रो जित

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १७ : १५
महिला लिग फुटबल : धनगढीको लगातार दोस्रो जित

चितवन । राष्ट्रिय महिला लिग फुटबलमा धनगढीले लगातार दोस्रो जित हात पारेको छ । आज (सोमबार) को पहिलो खेलमा धनगढीले चन्द्रपुरलाई २-१ ले पराजित गरेको हो । 

प्रतिस्पर्धात्मक खेलमा धनगढीलाई जिताउन बिर्सना चौधरी र कप्तान चन्द्रा भण्डारीले समान एक-एक गोल गरे । चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काईन् । खेलको ४५ औं मिनेटमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिईन् । डिबक्स बाहिरबाट उनले गरेको प्रहार घनगढीकी गोलकिपर कविता विकले पत्तै पाईनन् । 

तर चन्द्रपुरको अग्रता ३ मिनेट पनि टिकेन । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा धनगढीले पेनाल्टी पायो । डिबक्स भित्र चन्द्रपुरकी डिन्फेन्डरले ह्याण्ड गरेपछि प्राप्त अवसरलाई सदुपयोग गर्दै धनगढीकी बिर्सनाले बराबरी गोल फर्काईन् ।

लगत्तै दुई मिनेटपछि धनगढीले अग्रता लियो । क्याप्टेन चन्द्राले एकल प्रयासमा गोल गर्दै धनगढीलाई अग्रता दिलाईन् । दोस्रो हाफमा चन्द्रपुरले लगातार आक्रमक खेल प्रस्तुत गरे पनि फिनिसिङ कमजोर रह्यो । खेलमा थप गोल भएन र धनगढी २-१ ले विजयी भयो । 

खेलको प्लेयर अफ दि म्याच धनगढीकी कप्तान चन्द्रा घोषित भईन्। यो जितपछि दुई खेलमा शतप्रतिशत नतिजा निकालेको धनगढीले ६ अंक बनाएको छ । दुई खेलमा नै पराजित भएको चन्द्रपुर अंकबिहिन छ । 

प्रतिक्रिया दिनुहोस