टि २० आई त्रिकोणात्मक सिरिज : नेपाल १५ रनले विजयी

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १६ : १९
टि २० आई त्रिकोणात्मक सिरिज : नेपाल १५ रनले विजयी

काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पाहुना टोली पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.२ ओभरमा १० विकेट गुमाउँदै १६८ रनमा समेटियो । 

पपुवा न्युगिनीका नर्मन भनुवाले अर्धशतकिय पारी खेले । उनले ५ चौका र ४ छक्काको मद्दतमा ५२ रन जोडे । सेसे बाउले ३० रनको योगदान गरे । ओपनरद्वय टोनी उरा र लेगा सियाकाले क्रमश: ५ र २१ रन बनाउँदा कप्तान असाद भाला  ७ रनमै आउट भए । 

यस्तै, चाल्र्स अमिनीले २२, रिले हेकुरेले ३, चाड सुपरले १३ रन जोडे । अलि नाओ, सिमोन अटेई र जासोन किला शून्यमै आउट भए ।नेपालका लागि कप्तान सन्दिप लामिछाने र करन केसीले तीन/तीन विकेट लिए । अविनाश बोहराले दुई विकेट लिँदा सोमपाल कामीकाे नाममा एक विकेट रह्याे ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । नेपालका लागि राम्रो सुरुवात गरेका ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भएपछि अर्का ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन जोडे । 

त्यस्तै, रोहितकुमार पौडेलले ३४ रन तथा आरिफ शेखले ३१ रन बनाउँदा करण केसी १४ रन र कुशल मल्लले ११ रन, लोकेश बामले ५ रन, करन केसीले १४ रन बनाए । सन्दिप लामिछाने र सोमपाल कामीले समान एक/एक रन बनाउँदा अविनाश बोहरा शून्यमै नट आउट रहे । 

बलिङतर्फ पिएनजीका चार्ल्स अमिनि, अलि नाओ र चाड सुपरले समान २/२ विकेट लिए । त्यस्तै, नर्मन भनुवा र रिले हेकुरेको नाममा समान एक/एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस