हिमाली गाई तराईमा

आइतबार, ३० बैशाख २०७५, १४ : ४७
हिमाली गाई तराईमा

-सुमन गैरे
भरतपुर । हिमाली भेगमा पाइने लुलु (हिमाली) गाई तराईको प्रचण्ड गर्मीमा पनि देख्न सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् चितवनको रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गाई फार्ममा हिमाली भेगका १० वटा लुलु गाई राखिएको छ । ती गाईलाई सिधै रामपुर ल्याइएको होइन, मनाङबाट दुई वर्षसम्म काठमाडौँको खुमलटारस्थित गाई पजनन् केन्द्रमा राखेर ल्याइएको हो । काठमाडौँको मौसममा समायोजन हुन थालेपछि गत फागुन महिनामा अनुकूलता परीक्षणको लागि रामपुर ल्याइएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख वरिष्ठ वैज्ञानिक डा. माधवप्रसाद आचार्यले बताए ।
४ वर्ष उमेर समूहका ती गाईलाई अन्य गाईभन्दा फरक गोठमा राखिएको छ । ती गाईका सिंग चौंरी गाईको जस्तो देखिन्छ । ती गाईमाथि याक लगाएपछि चौरी गाई बन्ने डा. आचार्यले बताए ।
हाल हरियो र सुकेको घास तथा दाना खुवाएर राखिएका ती गाईलाई केही समयपछि पूर्ण दाना खुवाइने उनले बताए । दाना, पराल र भिटामिनको मिश्रणबाट तयार गरिएको पूर्ण दाना अन्य जातका गाईलाई पनि खुवाउन थालिएको छ । यो दाना खासगरी दूधको मात्रा हेर्न तयार गरिएको वरिष्ठ वैज्ञानिक डा. आचार्यले  बताए ।
दुई वर्षपछि अन्य जातको गाईको बहर लगाएर वंशानुगत समिश्रण निकाल्ने अनुसनधानमा अगाडि बढिएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका प्रमुख डा. आचार्यको भनाइ छ ।
अहिले ती गाईलाई दिनहुँ गाई गोठालाले नुहाइदिन्छन् । फार्ममा सिंलिङ पंखा जोडेर राखिएको छ ।
उक्त गाई फार्ममा वर्णशंकर जातका १ सय २४ वटा गाई रहेका छन् । जसमध्ये स्थानीय जातसँग क्रस गरिएका ७५, होलिस्टियन जातका १६, तराईका २२ र पहाडी गाई १ रहेको वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले बताए ।
कृत्रिम गर्भाधारणबाट २ सय ८० दिनमा व्याउने जर्सी र होलिस्टेन जातका गाईले लैनोमा दैनिक २० देखि २७ लिटरसम्म दूध दिने गरेको उनले बताए । माली गाईको रुपमा चिनिने ती गाई १० देखि १२ बेतसम्म गर्भवती हुने र १५ देखि २० वर्षसम्म बाँच्ने गरेको प्राविधिक अधिकृत आचार्यले जानकारी दिए ।
विभिन्न जातका गाईलाई चरन क्षेत्रको लागि ४ हेक्टर र घाँसे मैदान १० हेक्टर रहेको उनले बताए । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको स्वामित्वमा २५ हेक्टर जमिन रहेको छ ।
अनुसन्धानका लागि राखिएका ती गाईहरुबाट हिउँद महिनामा २ सय ७५ देखि ३ सय लिटर र वर्षायाममा ३ सय ५० देखि ४ सय लिटरसम्म दूध संकलन हुने गरेको पशु चिकित्सक डा. चेतराज पाठकले बताए । उक्त दूधलाई आफ्नै चिस्यान केन्द्रमा राखेर किसानलाई प्रतिलिटर ५६ रुपैयाँका दरले दैनिक बिक्री वितरण गर्दै आएको उनले बताए । दूधबाट समय समयमा पनिर, खुवा र दही बनाएर किसानलाई बेच्ने गरेको बताइएको छ ।
गाई अनुसन्धान कार्यक्रमको फार्ममा २५ जना मजदुरहरु कार्यरत छन् । जसमध्ये ८ जनाले दिनहुँ गाई दुहुने, ८ जनाले घाँस काट्ने र २ जनाले गाईलाई नुहाउने काम गर्दै आएको पशु चिकित्सक डा. पाठकले बताए ।

 

प्रतिक्रिया दिनुहोस