निकुञ्ज अतिक्रमण गरेको भन्दै चितवनमा चेपाङका घरगोठ जलाइए

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, ११ : ०४
निकुञ्ज अतिक्रमण गरेको भन्दै चितवनमा चेपाङका घरगोठ जलाइए

चितवन  ।  चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्ज सुरक्षाका लागि खटिएको सेनाको टोलीले आइतबार बेलुका चेपाङका कम्तीमा १० घरगोठमा आगजनी गरेको हो ।

स्थानीयले बताएअनुसार कम्तीमा १० घरगोठमा आगजनी भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । मेयर ढकालसहितको टोली आगजनी भएको स्थानमा निरीक्षणका लागि गएको थियो ।कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।

‘धेरैलाई त्यहाँबाट हामीले स्थानान्तरण गरेर तल ल्याइसकेका छौँ । अहिले फेरि केहि मान्छेहरु त्यहाँ गएर बस्न थाल्नुभएको रहेछ’, उनले भने, ‘त्यहाँ बस्नुहुन्न । तल ल्याउनुपर्छ भनेर हामी सल्लाहमै थियौँ । तर हिजो त्यहाँ गएर हामीसँग समन्वयन नगरी आगजनी गर्ने काम भयो । बस्न नहुने ठाउँ भए पनि आगजनी गर्न हुन्नथ्यो ।’नगरपालिकाले गत वर्ष कुसुमखोलाका २५ घरलाई बगई, ८० घरलाई राई डाँडा र ४२ घरलाई परुई खोला किनारमा ल्याएर स्थानान्तरण गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर इलाकामा बसोबास गरेका मान्छेलाई पटक–पटक नबस्न आग्रह गर्दा पनि नयाँ घरगोठ बनाउने क्रम नरोकिएपछि आगजनी भएको बताउँछन् । घटनाको आधिकारीक जानकारी हेडक्वार्टरमा नआएको उनले बताए ।

निकुञ्जले यसअघि ३ साउन २०७७ मा पनि कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङका दुई घरमा आगजनी र आठ हात्ती लगाएर भत्काएको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा कुसुमखोलाका चेपाङलाइ स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस