एनआरएनए विवाद पुग्यो परराष्ट्र मन्त्रालय, संस्थापनमा भूकम्प (पत्रसहित)

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १६ : ०५
एनआरएनए विवाद पुग्यो परराष्ट्र मन्त्रालय, संस्थापनमा भूकम्प (पत्रसहित)

काठमाडों । आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको छ । आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंको याक एण्ड यतिमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता भएको हो ।  

याक एण्ड यतिमा मार्च २४ तारिखका दिन एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो । निवेदनमा संघको विधानका केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएकाले त्यसलाई प्रमाणीकरण गर्न भनिएको छ । जबकी संस्थापनले हाल कायम विधानको व्यवस्थालाई परिवर्तन गरी संस्थामा ३ अध्यक्ष बनाउने निर्णय गरेको थियो । शनिबार ललितपुरको होटल हिमालयमा भएको विश्व सम्मेलनले संघको विधान संशोधन गरेर भविष्यमा नजिर नपर्ने गरी तीन अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसका लागि उपेन्द्र महतोको नेतृत्वमा ७ सदस्यीय निर्वाचन मण्डल समेत घोषणा गरिएको थियो । 

सो निर्णयपछि घले समूहले आफूलाई आधिकारिक दाबी गर्दै संस्थापन समूहभन्दा पहिले परराष्ट्र मन्त्रालयमा पुगेर विधानमा एकभन्दा बढी अध्यक्ष चयन गरिनु अवैध हुने ठहरसहित निवेदन दिएको हो । संस्थापनले हलबाट गरेको निर्णय परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले सो अघि नै घले पक्ष परराष्ट्रमा पुगेर बखेडा झिकेको हो । 

दशौँ महाधिवेशनबाट उपस्थित प्रतिनिधिहरूबाट संघको विधान, २००३ (२०२१ संशोधितसहित) को केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएको निवेदनमा उल्लेख छ । सोअनुसार चैत १२ गते बसेको सचिवालय बैठकबाट विधानको दफा १९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु स्वीकृतिका लागि अनुरोध गरिएको छ । 

पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघको सन् २२ मार्च २०२२ देखि २४ मार्च २०२२ मा काठमाडौं, दरबारमार्गस्थित याक एण्ड यति होटलमा सम्पन्न दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूबाट गैरआवासीय नेपाली संघको विधान, २००३ (२०२१ संशोधित सहित) को केही व्यवस्थाहरुलाई संशोधन गर्ने गरी निर्णय पारित भएको हुँदा उक्त निर्णयलाई अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति २०७८।१२।१२ को बैठकबाट सम्बोधन गरी विधानको दफा २९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु त्यहाँ मन्त्रालयबाट स्वीकृति तथा प्रमाणीकरण गर्न हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस