बाँकेमा सेनाले बनाइदियो साइकल ट्रेल

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १७ : ०७
बाँकेमा सेनाले बनाइदियो साइकल ट्रेल

काठमाडौँ ।  नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले डुडुवा गाउँपालिका–५ मा रहेको बाबुकुवा सामुदायिक वनमा साइकल ट्रेल बनाइदिएको छ।

नेपालगञ्ज साइक्लिङ क्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले बनाइदिएको साइकल टे«लको शनिबार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उद्घाटन गरे।

गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउन पाउदा खुशी लागेको बताए। उनले नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको बताए।

नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने उद्घोष गरे। उनले बाँकेमा माउन्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरूलाई साइकल ट्रेल बनेपछि अभ्यास गर्न सहज भएको बताउँदै नेपाली सेनालाई धन्यवाद दिए।

बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले बाँकेमा माउन्टेन बाइक चलाउनेको संख्या बढिरहेको र साइकल ट्रेल बने पनि सबै जना उत्साहित भएको बताए।

नेपाली सेनाले सय जना जनशक्ति लगाएर ५ किमि दूरीको साइकल ट्रेल बनाइदिएको हो। सामुदायिक वनको झाडी सफाइ गरेर साइकल ट्रेल बनाइएको छ। साइकल ट्रेल बनेसँगै अब बाँकेका माउन्टेन बाइक प्रतियोगितामा भाग लिने खेलाडीले नियमित अभ्यास गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस