माडीमा तीव्र विकास गर्न माडी भरतपुर सम्पर्क मञ्चको आग्रह

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १६ : १९
माडीमा तीव्र विकास गर्न माडी भरतपुर सम्पर्क मञ्चको आग्रह

चितवन । माडी भरतपुर सम्पर्क मञ्चले माडीको समग्र विकासमा सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चको १३ औँ वार्षिका साधरणसभामा बोल्दै अध्यक्ष गणेश गुरुङले वन्यजन्तुको आक्रमणबाट माडीबासीलाई जोगाउन उच्च प्राथमिकता दिन आग्रह गरे । वन्यजन्तुका कारण हुने मानव तथा खाद्याबालीमा पुग्ने क्षती रोकथामका लागि दीर्घकालिन योजना कार्यान्वयन गर्न आग्रह गरे ।

उनले माडीमा रहेका दजनौँ खोलाका कारण खेतीयोग्य जमिन कटान तथा डुबानको समस्या हल गर्न व्यवस्थित तटबन्धन गरिनुपर्ने बताए । जनप्रतिनिधि आएपछि माडीले विकासमा गती लिएको भएपनि अझै तीव्र विकास माडीले चाहेको बताए । पछिल्लो ५ वर्षयता माडीमा सडक, पुल, खोला नियन्त्रणका कामहरु प्रशंसनीय भएको उनको भनाई छ । संस्थापक अध्यक्ष शिवप्रसाद अधिकारीले माडीको विकासमा उपेक्षा हुन नदिन सबैले पहल गर्नुपर्ने बताए । उनले माडीबाट अन्यत्र बसाईसरी गएकाहरुलाई फेरी माडीमै फर्किने वातावरण बनाउन आवश्यक रहेको बताए ।

पूर्वअध्यक्ष सन्तलाल गुरुङले माडीलाई सुगम नगरका रुपमा विकास गर्न तीन तहका सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा मञ्चका सल्लाहकार बालकृष्ण तिवारी,  मितेरी कृषि सहकारी संस्था माडीका अध्यक्ष नारायणप्रसाद पौडेल, जिल्ला मेलमिलाप केन्द्रका दिवाकर भट्टराई, माडी रेडक्रसका भागीरथ बस्याल, मञ्चका उपाध्यक्ष शिवप्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए । सचिवको प्रतिवेदन इन्द्रप्रसाद तिवारी र कोषाध्यक्षको प्रतिवेदन दिवाकर ढकालले प्रस्तुत गर्नुभएको थियो । माडीबाट बसाईसरी भरतपुर आएकाहरुलाई एकिकृत गरी २०६२ सालमा मञ्च स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस