पोखरा विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न, चिनियाँ विदेशमन्त्रीले आजै हस्तान्तरण गर्ने

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, ११ : ४१
पोखरा विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न, चिनियाँ विदेशमन्त्रीले आजै हस्तान्तरण गर्ने

 काठमाडौं । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ । 

चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिक रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको विमानस्थल आयोजना प्रमख विनेश मुनंकर्मीले जानकारी दिए ।

उनका अनुसार आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन् । सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो । 

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वे लगायत मुख्य काम सकिएका छन् । आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताए । सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ । 

उनले भने, 'रनवे, टर्मिनल भवन, यान्त्रिक उपकरण जडान, लाइटलगायत मुख्य काम सबै सकिएको छ । फेन्सिङ, प्यासेन्जर बडी बिल्ड र नालाको केही सामान्य काम मात्र बाँकी छ । यसका लागि अब धेरै समय लाग्दैन ।'

निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिए पनि विमानस्थल सञ्चालनका लागि पूर्ण रूपमा तयार हुन अझै काम बाँकी नै छन् । आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुन सकेको छैन । बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ । 

डाँडा कटानका लागि मन्त्रीपरिषद्ले पूरक प्रतिवेदन पेस गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघिनै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताए । विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । 

पर्यटकीय शहरका रूपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघिनै विमानस्थल बनाउने योजना अघि सारिएको थियो । लामो समयअघिको योजना विसं २०७४ मा आएर मात्र काम सुरु भएको हो । सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप १ वर्ष म्याद थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस