श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका दुई जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १६ : ४३
श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका दुई जनाको मृत्यु

काठमाडौं ।श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । अत्यावश्यक वस्तुको चरम अभाव र अकाशिदो मूल्य वृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले जानकारी दिए ।केही सातादेखि श्रीलंकामा तेल भर्न घन्टौँसम्म मानिसहरु पेट्रोल पम्पमा पालो कुरेर बसेका देखिन्छन् । श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।

देशमा अत्यावश्यक वस्तुको आपूर्ति घटिरहेको छ । विदेशी मुद्राको अभावसँगै अत्यावश्यक वस्तुको आयात समेत घटेको छ । यसअघि छाप्ने कागजको अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि रद्द गरेको थियो । परीक्षा रद्द हुँदा लाखौँ मानिस प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस