सडक सञ्जालले नछोएको सञ्जापुमा मोटरबाटो

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १२ : ३०
सडक सञ्जालले नछोएको सञ्जापुमा मोटरबाटो

काठमाडौं ।  सडक सञ्जालले नछोएको लमजुङको मर्स्याङ्दी गाउँपालिका-५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ ।

संसद् विकास कोष अन्तर्गतको बजेट र मर्स्याङ्दी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो । मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई मध्यनजर गर्दै गाउँमा मोटरबाटो पुर्‍याइएको हो ।सञ्जापु मोटरबाटो निर्माण समितिका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार गत वर्षबाट मोटरबाटोको काम थालिएकोमा यस वर्ष सकिएको हो । गत वर्ष ०७७/०७८ मा गण्डकी प्रदेश सभा ‘क’ का सांसद धनञ्जय दवाडीको पहलमा संसद् विकास कोष कार्यक्रम अन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङ्दी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो ।

यस वर्ष मर्स्याङ्दी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराएको हो । सञ्जापुमा मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्‍याइएकाे छ ।

मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले नागरिकलाई मोटरबाटोको अतिआवश्यक भएकाले यसमा बजेट व्यवस्था गरिएको बताए । सडकको सुविधा पुगेपछि सवारीसाधनमार्फत आवातजावत गर्न सहज हुने र गाउँमा उत्पादित बस्तु बजारसम्म पुर्‍याउन सकिने बताए । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सञ्जापु गाउँ सडक सञ्जालले जोडिएसँगै जमिनको अधिकतम उपयोग गरी व्यावसायिक उत्पादनमा जोडिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस