एकहप्ते स्किल विकको तेस्रो संस्करण हुने

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, ११ : १६
एकहप्ते स्किल विकको तेस्रो संस्करण हुने

काठमाडौँ ।  ग्लोकल आफ्टर स्कुलले गत वर्षझैं यस वर्ष पनि स्किल विक कार्यक्रमको नयाँ संस्करण ल्याएको छ। एक हप्ते स्किल विक कार्यक्रममा विभिन्न सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गरिने स्कुलले जनाएको छ।

कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारी उक्त कार्यक्रम हुनेछ। सीपमूलक रोजगारीको अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल विक कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ।

मार्च २१ देखि २७ सम्म सञ्चालन हुने स्किल विकमा १६ देखि ३० वर्ष उमेर युवा विद्यार्थीहरुले निःशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन्। कार्यक्रमबाट सीप विकासको बारे जानकारी लिन सकिनेछ।

‘यो युवाहरुका लागि एक खुला मञ्च हो। सम्पूर्ण आवेदन निःशुल्क हुनेछन् र युवाहरुले सीपका विभिन्न किसिम, क्षेत्र, बजारको माग एवं सीपको महत्वका बारेमा जानकारी पाउने छन्। स्किल विकले युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्नेछ’, स्कुलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिने स्कुलले जनाएको छ। यसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधि रहेका छन्।

कार्यक्रममा स्किलको क्षेत्रमा योगदान दिएका ४ जना व्यक्तिहरुलाई सीप पुरस्कार प्रदान गरिनेछ। कार्यक्रमका लागि नबिल बैंकले साझेदारी गरेको छ।साथै रणनीतिक साझेदारका रूपमा बाग्मती प्रदेश, भारतीय राजदूतावास, दक्षता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, स्टार्टअप र इनोभेसन समितिलगायत रहेका छन्।

कार्यक्रमकोे आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल, एयरलाइन्स साझेदारहरूको रूपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स, साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट, मनोरञ्जन साझेदारको रूपमा नेपाल आइस र अन्य सहयोगीहरू डिश होम गो, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन्। 

प्रतिक्रिया दिनुहोस