वीरगञ्ज भन्सारद्वारा फागुनमा ९९ प्रतिशत राजस्व संकलन

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १७ : ०६
वीरगञ्ज भन्सारद्वारा फागुनमा ९९ प्रतिशत राजस्व संकलन

  काठमाडौं ।  मुलुकको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले फागुनमा ९९ प्रतिशत राजस्व संकलन गरेको छ।यो महिनामा भन्सार विभागबाट पाएको लक्ष्यको ९९ प्रतिशत राजस्व संकलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

फागुनमा वीरगञ्ज भन्सार कार्यालयले १७ अर्ब २२ करोड ९ लाख ८० हजार राजस्व संकलन गरेको छ। जुन भन्सार विभागबाट यस महिना पाएको राजस्व लक्ष्यको ९९ प्रतिशत हो।यस महिनामा विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १७ अर्ब ४४ करोड ९१ लाख ७७ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो।फागुनमा भन्सारले सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट ७ अर्ब २० करोड ३५ लाख ९५ हजार राजस्व असुल गरेको छ।

यस्तै, आयातबाट हुने भन्सार महसुलबाट ६ अर्ब २८ करोड ११ लाख ८४ हजार राजस्व संकलन गरेको छ।त्यसैगरी, पूर्वाधार करबाट १ अर्ब ५४ करोड ६० लाख, अन्तःशुल्कबाट १ अर्ब ३२ करोड ७१ लाख ६३ हजार, कृषि सुधार शुल्कबाट ११ करोड ५७ लाख ७७ हजार, सडक मर्मत तथा सुधार शुल्कबाट ३८ करोड २४ लाख, सडक मर्मत तथा सम्भार दस्तुरबाट ३२ करोड ९९ लाख ६२ हजार राजस्व वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

गत वर्षको फागुनमा भने १६ अर्ब ३९ करोड ११ लाख ६८ हजार राजस्व वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको थियो। जुन लक्ष्यको ९७ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस