मारिओपोलका हजारौं बासिन्दाहरूलाई रुसमा स्थानान्तरण गरिँदै

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १३ : ००
मारिओपोलका हजारौं बासिन्दाहरूलाई रुसमा स्थानान्तरण गरिँदै

काठमाडौं । रुसी सेनाले मारिओपोलका हजारौं बासिन्दाहरूलाई रुसमा स्थानान्तरण गर्न बाध्य पारेको विवरण सार्वजनिक भएका छन् । सिटी काउन्सिलले एउटा विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । विज्ञप्तिमा काउन्सिलले भनेको छ, ‘आक्रमणकारीहरूले मानिसहरूलाई युक्रेन छाडेर रुसी भूमि जान बाध्य पारेका छन् ।’

रुसी सेनाले गैरकानुनी ढंगले लेभोबेरेजनी जिल्लाबाट मानिसहरूलाई बाहिर निकालेर खेलकुद क्लबलगायतका स्थानमा भेला गरेको छ । निरन्तरको गोलाबारी र बम हमलाबाट बच्न १ हजारभन्दा बढी मानिस (अधिकांश महिला र बालबालिका) क्लबमा आश्रय लिएका छन् । 

कुल ६ हजार ६२३ जनालाई विभिन्न सहरहरूबाट खाली गरिएको उपप्रधानमन्त्री इरयाना भेरिस्चुकले बताए । तीमध्ये ४ हजार १२८ जना मारिओपोलका छन्, जसलाई उत्तरपश्चिमबाट जापोरिज्जिया पठाइएको छ ।

शनिबार युक्रेनको घेराबन्दी गरिएका सहरमा रहेका १० ओटा मानवीय कोरिडोरमध्ये ८ वटाबाट मानिसहरूको उद्धार गरिएको थियो । रुसी फौज मारिओपोलतर्फ अगाडि बढ्दा एउटा मुख्य स्टिल भट्टी बन्द भएको थियो । मारिओपोलको पतनले युद्ध मैदानमा रुसीका लागि एउटा महत्वपूर्ण प्रगति हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस