आजदेखि म्यादी प्रहरीमा दरखास्त दिन पाइने

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १० : ४६
आजदेखि म्यादी प्रहरीमा दरखास्त दिन पाइने

काठमाडौं  ।  स्थानीय तह निर्वाचनका लागि भर्ना आह्वान गरिएका म्यादी प्रहरीले आजदेखि आवेदन दिन पाउने भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आजदेखि आवेदन दिन पाइने भएको हो। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म आवेदन दिन सक्ने छन्। 

भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँने छन्।४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ। 

प्रतिक्रिया दिनुहोस