काठमाडौं । स्मार्ट सिटी भनिने तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा छ कल्ले-बल्ले गाउँ । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने याे गाउँका बासिन्दा पानीका लागि तीन घण्टा हिँडेर खाेला धाउन बाध्य छन् । घरअगाडि धाराकाे पाइप पुगे पनि पानी आउँदैन । घरअगाडिकाे धारा बर्सातमा मात्रै रसाउँछ । हिउँद लागेपछि पानी सुक्ने भएकाले यस वडाका ५ वटाभन्दा बढी गाउँ काकाकुल हुन्छन् ।
उनीहरूका लागि धाराकाे विकल्प भनेकाे तीन घण्टा परकाे खाेला हाे । ५ भन्दा बढी गाउँका मानसि धाउने भएकाले खोलामा समेत पालो पाउन मुस्किल पर्ने गरेकाे गाउँलेहरू बताउँछन् । 'धारामा कहिले आउँछ, कहिले आउँदैन', अम्वास निवासी शशीकला विकले भनिन्, 'धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ, त्यहाँ पनि पालो कुर्नुपर्छ ।'सडक र विद्युत पुगे पनि खानेपानीकाे समस्या ज्युँका त्युँ रहेकाे उनकाे गुनासो छ । 'घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि मात्र खाना पकाउने तयारी हुन्छ', उनले भनिन्, 'तर कहिले १२ बजेसम्म पनि पानी ल्याई नपुर्याउँदा त्यतिबेलासम्म खान पकाउन सकिँदैन ।'
गाउँका सबै मान्छे २/३ घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले मात्र पानी पाउँछन् तर पछि गएकाहरूले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीयवासी सावित्रा विकले बताइन् । 'पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ', उनले भनिन्, 'पानी ल्याउनलाई राति नै उठ्नु पर्छ ।'
पालो पाएपछि ६ बजे घर पुगिन्छ, नत्र भने १०/११ बज्ने गरेको उनीहरूको गुनासो छ । त्यहाँ थापानी र घुटघुटेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुई वटा ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बासमा पानी पठाउने गरिन्छ ।
हिउँदमा पानी नपाउने समस्याले वर्षौंदेखि आफूहरू आजित भएको स्थानीयवासी मालबहादुर वलीले बताए । 'पटक-पटक निर्वाचनको समयमा पानी ल्याइदिने आश्वासन दिने गर्छन्', उनले भने, 'त्यसपछि फर्केर पनि आउँदैनन्, अब निर्वाचन हुन लाग्यो नेताहरूले पानी, सडक, विद्युतलगायत सपना बाँड्न थालेका छन् ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १६ : २७
लेखकबाट थप