काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत होटल तथा पर्यटन व्यवसाय गर्ने सीमित कम्पनीमध्ये सोल्टी होटल लिमिटेड पनि एक हो, जसको बजार पुँजीकरण हाल १७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
१० रुपैयाँ फेस भ्यालु भएको सोल्टीको सेयर अहिले २४२ रुपैयाँमा कारोबार हुन्छ। अर्थात् त्यो सेयरको फेस भ्यालु सय रुपैयाँ हुन्थ्यो भने सोल्टीको एउटै सेयरको मूल्य अहिले साढे दुई हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको हुन्थ्यो।
सोल्टीको बजार प्रस्तुति पनि औसतमा परिसूचकभन्दा बढी प्रतिक्रियात्मक हुने गरेको छ। बेटा भ्यालु एकभन्दा माथि रहेको सोल्टी होटलको सेयर ‘भोला टाइल’ स्टकमध्ये पर्छ। यस्ता स्टकलाई पोर्टफोलियोमा समावेश गर्दा यो स्टक बिनाको समान पोर्टफोलियोको जोखिम कम हुने गर्छ।
कोरोना महामारीका कारण मुलुकको होटलको व्यवसायमै पछिल्ला दुई आर्थिक वर्ष निकै हसर परेको छ। यो असरबाट सोल्टी पनि प्रभावित थियो। व्यवसायमा नोक्सानी बेहोर्नुपर्दा समेत सोल्टीको सेयर मूल्यमा भने खासै नकारात्मक प्रभाव पर्न परेको देखिएन।
संरचनागत सुविधाहरूलाई पूर्ण क्रियाशील राख्दै होटेलले व्यावसायिक रणनीतिक, नीतिगत तथा व्यावसायिक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गरेको देखिन्छ। त्यो बेला होटलले सञ्चालन खर्च निकै कटौती गरेको थियो। यद्यपि चालु आर्थिक वर्षदेखि भने व्यवसायमा होटलले लिएको पुनरागमन सन्तोषजनक देखिएको छ।
यो साता सेयर मूल्यमा उत्साहजनक छलाङ मार्ने कम्पनीमा सोल्टी होटल लिमिटेड पनि हो। एक साताको अन्तरालमा लगानीकर्ताले १९.८० प्रतिशत कमाएका छन्। दोस्रो त्रैमासमा कम्पनीको व्यवसायमा देखिएको प्रगतिले पनि लगानीकर्ता सोल्टीको सेयर खरिद गर्न हौसिएको देखिन्छ।
यस्तै, सेयर मूल्य ५२ हप्ताको नजिक हुँदा लगानीकर्ताको माग कम्पनीको सेयरप्रति बढेको बुझ्न सकिन्छ। १८२ रुपैयाँ सोल्टीको ५२ हप्ताको न्यूनतम कारोबार मूल्य हो।
दोस्रो त्रैमासमा नाफा र व्यवसायमा उत्साहप्रद प्रगति:
सोल्टीको व्यवसाय सुध्रिएको छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा नोक्सानी कम हुँदै नाफामा उल्लेख्य सुधार देखिएको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १४२.५९ प्रतिशतले वृद्धि हुँदै ४ करोड ९० लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सोल्टी होटलले ११ करोड ५१ लाख रुपैयाँ नोक्सानी बेहोर्नुपरेको थियो। पहिलो त्रैमासमा नै होटलको कारोबारमा उल्लेख्य सुधार देखिएको थियो। चालु आर्थिक वर्षको असोज अन्तिमसम्म होटल २ करोड ११ लाख रुपैयाँ घाटामा थियो।
कोभिड-१९ को संक्रमणले जनजीवन प्रभावित रहँदा गत आर्थिक वर्ष होटलको व्यावसायिक गतिविधि तथा क्रियाकलापहरूमा नकारात्मक प्रभाव परेको थियो। यस वर्षदेखि भने व्यावसायिक गतिविधि चलायमान भएका छन्।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन साथै गोष्ठी र सभा-समारोह आयोजनाको क्रम बढ्दा होटलको व्यवसायमा सकारात्मक प्रभाव देखिएको हो। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा होटलको कुल व्यावसायिक आम्दानी १६३.६९ प्रतिशत बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सोल्टी होटलले ४४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा होटलले कुल १६ करोड ९८ लाख रुपैयाँ व्यावसायिक आम्दानी गरेको थियो।
८४ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको सोल्टी होटलको सञ्चित मुनाफा र जगेडा कोषको आकार ६३ करोड ८९ लाख रुपैयाँ छ। सञ्चित मुनाफा र जगेडा कोषको आकार भने अघिल्लो आर्थिक वर्षको तुलनामा ७.७१ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा सोल्टी होटलको प्रति सेयर आम्दानी ०.५८ रुपैयाँ छ। होटलको प्रतिसेयर नेटवर्थ १७.५८ रुपैयाँ छ। अन्तिम कारोबार मूल्य २४२ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात ४६५.३८ गुणा छ।
यस्तो छ प्राविधिक पक्ष
५२ हप्ताको न्यूनतम मूल्य विन्दुबाट सोल्टीको माग उदय भएको हो। सोल्टी होटलको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको प्रति कित्ता सेयरको मूल्य २४२ रुपैयाँ छ। होटलको ५२ हप्ताको न्यूनतम मूल्य १८२ रुपैयाँ हो।
कुनै समय ६५२ रुपैयाँसम्मको उच्चतम मूल्यमा खरिदबिक्री भएको सोल्टीको सेयर त्यसपछि लामो समयसम्म ३०० रुपैयाँको राडारभन्दा कम मूल्यमा नै कारोबार भएको देखिन्छ। कोभिडसँगै आएको सेयर बजारको उछालका बाबजुद होटलको सेयर मूल्य ३२० रुपैयाँभन्दा माथि जान सकेन।
समायोजित प्राविधिक चार्ट अनुसार कम्पनी तत्काल रेञ्जिङ ट्रेन्डमा रहेको अनुमान लगाउन सकिन्छ। यस्तो ट्रेन्डमा मूल्य अपर रेन्जको अवरोध विन्दु र बटम रेन्जको टेवा विन्दुभित्र नै उतारचढाव हुने गर्छ। यस प्रकारको ट्रेन्डलाई सरल भाषामा साइडवेज मार्केट पनि भन्ने गरिन्छ।
कम्पनीको मूल्य २५० रुपैयाँको अपर रेन्ज र २०० रुपैयाँको बटम रेन्जबीच घटबढ हुने गरेको छ।
३०० रुपैयाँको उच्चतम अवरोध विन्दुपछि तीव्र रूपले घटेको सोल्टीको सेयर मूल्यले २५० रुपैयाँको टेवा विन्दुबाट ट्रेन्ड परिवर्तन गर्दै पुनः ३०० रुपैयाँको उच्चतम अवरोधलाई परीक्षण गरेको थियो। तर, ३०० रुपैयाँको अपर रेन्जको बाधा नजिकिए लगत्तै बजारमा प्रोफिट बुकिङका लागि अत्यधिक आपूर्ति सृजना हुने गरेको छ।
बढ्दो मागका कारण सेयर मूल्यले ३०० रुपैयाँको अवरोध त तोड्यो तर सो विन्दुमाथि स्थिर रहन भने सकेन। भारी गिरावट सहेको सेयर मूल्य २०० रुपैयाँको सपोर्टमा आएर थामिएको थियो। २०० रुपैयाँको बटम रेन्जबाट लगानीकर्ता सोल्टी होटलको सेयरप्रति पुनः आकर्षित भएका हुन्।
५२ साताको न्यूनतम मूल्य विन्दुबाट सोल्टीको सेयरमा देखिएको यो दोस्रो आकर्षण हो। यस अघि २०० रुपैयाँ आसपासबाट बढेको मूल्यले २५० रुपैयाँको अपर रेन्ज टार्गेटमा पुगी फर्किएको थियो। सोही विन्दुलाई तोड्न असफल हुँदा मूल्य पुनः सोही बटम रेन्ज नजिक फर्किएको थियो। फेरि पनि मूल्य टेवा क्षेत्रबाट परिवर्तित दिशातर्फ लम्किएको छ।
२५० रुपैयाँको पहिलो लक्ष्य प्राप्त गरिसकेको सोल्टीको सेयर मूल्यले सो अवरोध विन्दु सफलतापूर्वक ब्रेकआउट दिन्छ कि दिँदैन भन्ने विषयमा अन्योल छ। मूल्यले सफलतापूर्वक सो विन्दुलाई ब्रेकआउट दिएको अवस्थामा ३०० रुपैयाँको उच्चतम लक्ष्य लिएर मूल्य अघि बढ्ने छ। यदि मूल्य अवरोध विन्दुभन्दा माथि स्थिर नरहेको अवस्थामा भने सेयर मूल्यले नकारात्मक प्रतिक्रिया दिने निश्चित छ।
क्यान्डल स्टिक विश्लेषण
साताको अन्तिम कारोबार दिन सोल्टी होटलको सेयर गतिविधिले खरिदकर्ताको तीव्र चापसहितको बुलिस स्पाइनिङ टप क्यान्डल स्टिक रचना गरेको छ। दुई कारोबार दिनदेखि कम्पनीको चार्टमा लगातार सोही क्यान्डल स्टिक निर्माण भएको छ। सो आकृतिले कम्पनीको सेयर मूल्य आगामी दिनमा पनि बढ्ने संकेत दिएको छ।
यद्यपि सेयर मूल्यले २५० रुपैयाँको प्रथम अवरोधको सामना गरेको देखिन्छ। आगामी दिनमा सो अवरोधलाई पार गरी मूल्य अवरोध विन्दुभन्दा माथि स्थिर रहेको अवस्थामा मूल्यले थप सकारात्मक प्रतिक्रिया दिने देखिन्छ।
३०० रुपैयाँको अवरोध मूल्य विन्दु नजिकिँदा मूल्यमा अप्रत्याशित गिरावट देखिने सम्भावना पनि अब्बल छ। उक्त मूल्य रेखामा लगानीकर्ताले पुँजीगत लाभ सुरक्षण गर्न सक्दो सेयर बेच्ने अनुमान गर्न सकिन्छ।
यस्तो अवस्थामा माग भन्दा असमानुपातिक आपूर्ति सिर्जना हुँदा मूल्यले नकारात्मक गति समात्ने गर्दछ। यद्यपि सो अवरोध विन्दुमाथि कम्पनीको मूल्य स्थिर रहेको अवस्थामा भने सेयरले कीर्तिमानी लक्ष्य लिएर अघि बढ्ने देखिन्छ।
२०० रुपैयाँको ‘मेजर सपोर्ट’ बाट बाउन्स ब्याक लिएको सोल्टीको सेयरले केही समय सकारात्मक प्रतिक्रिया भने अवश्य पनि दिने देखिन्छ। निश्चित टार्गेट र स्टप लसको रणनीतिले लगानीकर्ता यस कम्पनीको सेयरबाट लाभान्वित हुने अब्बल सम्भावना छ।
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
यस साताको बुधवार कम्पनीको कारोबार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६७.१९ को स्केलबाट ५.०९ प्रतिशत विन्दु बढेर ७२.२८ प्रतिशतमा पुगेको छ। यसले खरिदकर्ताको प्रभाव औसतभन्दा बढी हाबी हुँदै गएको बुझिन्छ।
सामान्यता यो सूचक ७० प्रतिशतभन्दा माथि रहन्छ भने त्यस अवस्थालाई 'ओभर बट' अथवा अत्यधिक खरिद गरिएको भनी बुझिन्छ। यो स्थितिमा लगानीकर्ता नाफा बुकिङमा अत्यधिक सक्रिय हुन्छन्। कारण स्वरूप बजार विपरीत ट्रेन्डतर्फ हिँड्ने गर्छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्सले(आरएसआई)ले बजारको प्रस्तुति कतिको शक्तिशाली छ भनेर मापन गर्दछ। यो सूचक ३० प्रतिशतभन्दा तल रहेको अवस्थालाई 'ओभर सोल्ड' अथवा अत्यधिक बिक्री गरिएको भनी बुझिन्छ।
आरएसआईलाई ५० प्रतिशत स्केलको मापदण्डबाट पनि मापन गर्ने गरिन्छ। आरएसआईलाई ५० प्रतिशतभन्दा तल झर्छ भने बजारले आगामी दिनमा त्यति शक्तिशाली प्रस्तुति प्रदर्शन नगर्ने बुझ्न सकिन्छ। यस्तै, ५० प्रतिशतभन्दा माथि रहेको अवस्थामा सेयर मूल्यले उकालो लाग्न पर्याप्त शक्ति सञ्चित गरेको बुझिन्छ।
एक दशकमा प्रतिफल ३५० प्रतिशत
हालसम्म सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनिहरुलाई ३४२.०७ प्रतिशत लाभांश वितरण गरिसकेको छ। औसतमा होटलले लगानीकर्ताहरूलाई ३८ प्रतिशत लाभांश वितरण गर्दै आएको छ।
होटलले आर्थिक वर्ष २०७०/७१ का लागि सर्वाधिक लाभांश वितरण गरेको थियो। उक्त आर्थिक वर्षमा कम्पनीले ४० प्रतिशत बोनस र १७.८९ प्रतिशत नगद गरी कुल ५७.८९ प्रतिशत लाभांश दिएको हो।
आर्थिक वर्ष २०६७/६८, ०६८/६९ र ०६९/७० का लागि होटलले समान ५२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो। यस्तै, आर्थिक वर्ष २०७२/७३ र ०७३/७४ का लागि २१.०३ प्रतिशत प्रतिफल बाँडेको थियो। यी दुई आर्थिक वर्षमा लगानीकर्ताले लगानीको सर्वाधिक कम प्रतिफल पाएका थिए।
लाभांश वितरण गरिएका पछिल्ला दुई आर्थिक वर्ष २०७४/७५ र ०७५/७६ का लागि पनि लगानीकर्ताले समान २६.३१ प्रतिशतका दरले प्रतिफल पाएका थिए।
पछिल्ला दुई आर्थिक वर्षका लागि भने सोल्टी होटलले कुनै प्रकारको प्रतिफल घोषणा गरेको छैन। कोभिड-१९ का कारण पर्यटन व्यवसायमा परेको नकारात्मक प्रभावका कारण आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कम्पनीले नोक्सानी बेहोर्नुपरेको थियो। यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनी नाफामै रहेता पनि कुनै लाभांश प्रस्ताव भने गरेन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १६ : १७
लेखकबाट थप