पर्यटक तान्‍न १ करोड ६० लाख खर्चेर शंखपार्क

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १५ : ३५
पर्यटक तान्‍न १ करोड ६० लाख खर्चेर शंखपार्क

 काठमाडौं ।  जिल्लाको छत्रेश्वरी गाउँपालिका– ६ शंखमूलमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शंखपार्क निर्माण गरिएको छ। करिब एक करोड ६० लाख खर्चमा बनाइएको यस पार्कमा निर्मित शंखको प्रतिमा नेपालकै ठूलो रहेको दाबी गरिएको छ।

शंखमूलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शंख बिर्सेका कारण उक्त कुण्डको नाम शंखमूल रहन गएको धार्मिक विश्वास रहेको छ।ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको शंखमूललाई थप संरक्षण तथा प्रवद्र्धन गर्न नेपालकै ठूलो शंख निर्माण गरिएको गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताए। गाउँपालिकाले १ करोड ६० लाखको लगानीमा शंखपार्क नै निर्माण गरेको उनको भनाइ छ।

पार्कभित्र शिव पार्वतीको विशाल मूर्ति, शंख,  पानीको फोहोरा, पौराणिक झल्को दिने घर, चौतारा लगायतको पूर्वाधार निर्माण गरिएको शंखपार्क धार्मिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताए। पार्कले धार्मिक आस्थालाई जीवन्त बनाएको उनको भनाइ छ। पार्कमा आउने पर्यटकका लागि वाइफाई फ्री गरिएको छ।   

प्रतिक्रिया दिनुहोस