काठमाडौं । जिल्लाको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ ।गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिए ।
यहाँका वडावासीले वर्षौंदेखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जनसमेत गर्दै आइरहेका छन् । निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर भएपनि गाउँपालिकाले त्यहाँ कृषिका लागि बजेटको व्यवस्था गर्न नसकेको स्थानीयवासीले बताए ।
ढोरपाटन सिकार आरक्षसमेत पर्ने निसेलढोरमा हरेक वर्ष स्थानीयवासीले लाखौँका स्याउ, आलु र सिमी उत्पादन गर्दै आएका छन् । त्यस क्षेत्रमा उत्पादन बढाउन गाउँपालिकाको ध्यान पुगेको थिएन । गाउँपालिकाले कृषिका लागि यस वर्ष रु ४० लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै शाखाप्रमुख परियारले यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिने बताए ।
गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले कृषकलाई समय–समयमा कृषि परामर्श तथा तालिमसमेत दिँदै आएको र अब केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिए । यहाँका कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १२ : १०
लेखकबाट थप