चीनको कुन्घाई र नेपालको भरतपुरबीच पर्यटन विकासका लागि समझदारीपत्रमा हस्ताक्षर (फोटोफिचर)

शुक्रबार, २८ बैशाख २०७५, १३ : २८
चीनको कुन्घाई र नेपालको भरतपुरबीच पर्यटन विकासका लागि समझदारीपत्रमा हस्ताक्षर (फोटोफिचर)

सुरेशचन्द्र अधिकारी
कुन्घाई (चीन) l 
चीनको हेनान प्रान्तमा रहेका सात ठूला शहरमध्ये एक कुन्घाई र नेपालको भरतपुर महानगरपालिकाबीच पर्यटन विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र कुन्घाई शहरका सेक्रेटरी वाङ युङले हस्ताक्षर गर्नु भएको हो ।

चीन भ्रमणमा रहेको भरतपुर महानगरपालिकाको टोली कुन्धाई पुगेको अवसरमा आयोजित शिष्टाचार कार्यक्रममा दुईपक्षीय सहयोग आदानप्रदान, लगानीका अवसर र सम्भावनाबारे छलफल भएको हो । भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख रेनु दाहालले चीनको चौतर्फी विकासको रफ्तारमा कुन्घाई शहरले प्रतिवद्ध भएर विकाससँगै सरसफाईको नमुना प्रस्तुत गरेको बताउनु भयो ।

भरतपुर महानगर प्रमुख दाहालले भरतपुर महानगर पनि चिनियाँ मोडलमै तीब्र विकास गर्न आतुर रहेको बताउँदै चिनियाँ सरकार र चिनियाँ नागरिकलाई भरतपुरमा लगानी गर्न आग्रह गर्नुभयो । दाहालले लगानीकर्तालाई भरतपुर महानगरपालिकाले विशेष सहुलियत र सुरक्षाको वातावरण निर्माण गर्ने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा चीन भ्रमणमा रहेको टोलीका अन्य सदस्यमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा अध्यक्षहरू अरूणपीडित भण्डारी, चित्रसेन अधिकारी, प्रकाश दवाडी, प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी, स्वकीय सचिव गोपाल न्यौपाने र अधिकृत रोमराज महत रहनु भएको छ । वैशाख २३ गते मित्रराष्ट्र चीनको भ्रमणमा रहेको भरतपुर महानगरपालिकाको टोली वैशाख ३० गते नेपाल फर्कने छ । 


नेपाली प्रतिनिधि मण्डलले चीनका विभिन्न शहरका प्रमुख, स्थानीय सरकार र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूसँग चीनले गरेको विकास निर्माण र भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार विकासका विषयमा छलफल भएको छ । नेपाली प्रतिनिधिी मण्डलले यस क्षेत्रमा रहेका ठूला उद्योगहरू, नुन प्रशोधन केन्द्र, पोटास प्रशोधन केन्द्र, युरिया उत्पादन केन्द्र लगायतको अवलोकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस