मोरङका विभिन्न स्थानमा हात्तीपाइले विरुद्धको औषधि सेवनको ११ औं अभियान जारी रहेको छ।
अभियान १ सय ४८ वटा केन्द्रबाट अभियान सुरु गरिएको बताएका विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीलिप यादवका अनुसार विविध कारण १० औं पटकसम्मको अभियानले सफलता पाउन नसकेपछि हाल ११ औं अभियान भइरहेको हो।
यसपटकको अभियानलाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न पालिकाहरुले विशेष अभियान गरिरहेकाछन्। गत फागुन २८ गतेबाट अभियान सुरु गरिएको बताएका यादवका अनुसार यतिबेला स्वास्थ्यकर्मी स्थानीयको घरघरमा पुगेर औषधि सेवन गराउने काममा खटिएका छन्।
यसक्रममा अभियानको पहिलोदिन १५ हजारको संख्यामा औषधि खुवाईको बताएका जनस्वास्थ्य निरीक्षक यादवले दोस्रो दिनमा १९ हजारलाई औषधि सेवन गराउन सफल भएको जानकारी दिए। उनका अनुसार महानगरले हाल सहरी क्षेत्रको बाक्लो जनघनत्व भएको स्थानमा घरघरमा गएर औषधिसेवन गराउने कार्य गरिरहेको छ।
त्यसैगरि, मोरङको बेलबारी नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष वि.कले औषधिसेवन कार्यलाई प्रभावकारी बनाउन ३५ जना महिला स्वयंसेविकासहित ६५ जना स्वास्थ्यकर्मी खटिएको बताउँछन्।
उनका अनुसार विगतका वर्षभन्दा यसपटक सर्वसाधारणमा समेत औषधि सेवनलाई लिएर सकारात्मक परिस्थित रहेको बताए। उनका अनुसार घरघरमा टोली पुगेर सम्झाउने क्रममा सर्वसाधारणले औषधि सेवन गरिरहेकाछन्।
मोरङकै जहँदा गाउँपलिकामा समेत औषधिसेवनलाई लिएर सन्तोषजनक नतिजा आएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले जानकारी दिए।
उनका अनुसार हाल गाउँपालिकाले विभिन्न ७ वटा वडामा ४१ जना महिला स्वास्थ्य स्वयंमसेवीकासहित ४१ जना स्वास्थ्यकर्मी परिचालित रहेको बताए।
हाल मोरङका १७ वटा स्थानीय तहमा अभियान जारी रहेको छ। अभियानलाई सफल बनाउन घरघरमा स्वास्थ्य स्वंयम सेविका र स्वास्थ्यकर्मीको टोली पुगेर औषधि सेवन गराइरहेको पालिकाका स्वास्थ्य संयोजकहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, २१ : ४५
लेखकबाट थप