भूपीलाई कविताहरु मार्फत महसुस गर्छु : कान्ति शेरचन

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, १६ : ५५
भूपीलाई कविताहरु मार्फत महसुस गर्छु : कान्ति शेरचन

काठमाडौं  । कवि भूपी शेरचनकी पत्नी कान्ति शेरचनले कविताहरूको माध्यमले आफू एक्लोपन महसुस गर्नु नपरेको बताएकी छिन् । 'मैले यी कविताहरूमै भूपीलाई महसुस गर्ने गरेकी छुँ  । उनको कविताबाट प्रभावित भएर फिल्म बन्नु सुन्दर पक्ष हो,’ कान्तिले भनिन्  । उनले पाँच दशकअगाडि भूपीद्वारा लिखित कवितालाई अहिलेका युवा पुस्ताले पनि रिलेट गर्नु नै दूरदर्शिताको प्रमाण भएको बताइन्  । ’यो पुस्ताले पनि भूपीको साहित्यलाई रुचाउँदा मन खुसी हुन्छ  । उनको दूरदर्शिताको यो नै प्रमाण हो,’ उनले भनिन्  । 

भूपी शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपीको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।

गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई प्रस्तुत गरिएको फिल्म ’चिसो एष्ट्रे’ को प्रिमियर समारोहमा भएको छोटो कार्यक्रममा भूपी पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । 

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘चिसो एष्ट्रे’को गत मंगलबारसाँझ भएको प्रिमियरमा उपस्थित फिल्मकर्मीले तारिफ गरेका छन् । फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सेलिब्रेटीहरूले फिल्मको कथावाचन र दृश्यभाषामा फरक पन देखिएको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि अभिनेता सन्तोष पन्तले आफूलाई नेपाली नभई हलिउड फिल्म हेरिरहेको भानभएको प्रतिक्रिया दिएका थिए । 

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोषझैं नेपाली फिल्म हलिउडजस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताए । लूट फिल्म निर्देशन गरेर स्थापित भएका निर्देशक निश्चल बस्नेतले फिल्मको स्क्रिप्ट पर्दामा उतार्ने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गरे ।

अभिनेता राजेश हमालले आफ्नो स्वादमा पर्ने फिल्म हेर्न पाएको प्रतिक्रिया दिए ।साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, विम्ब आदि प्रभावशाली रहेको बताए । अभिनेता खगेन्द्र लामिछानेले पनिआफूले हेर्ने र गर्नेभन्दा फिल्म पृथक रहेको बताए ।

प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताए । कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको फिल्ममा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको प्रतिक्रिया प्राप्त भएको हो ।

फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका छ ।

कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित फिल्मलाई प्रविन स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस