गुणस्तरीय जीवनका लागि शहरी विकास नीति परिमार्जनः मन्त्री झाँक्री

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, ०८ : २०
गुणस्तरीय जीवनका लागि शहरी विकास नीति परिमार्जनः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय शहरी विकास नीति आवश्यक रहेको बताएकी छन् ।

शहरी नीति परिमार्जन र शहरी विकास ऐन गुणस्तरीय जीवनसँग विषय रहेको भन्दै यसका उपयुक्त नीति आवश्यक रहेको बताएकी हुन् । 

शहरी विकास मन्त्रालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले शहरी नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको समेत बताइन् । 

उनले भनिन्, ‘शहरी विकास नीतिमा सबैको अपनत्व होस् भनेर सबैसँग मन्त्रालयले छलफल गरिरहेको छ । नीति परिमार्जन र ऐन बनाउने काम विज्ञहरूलाई जिम्मा दिँदा पनि हुन्थ्यो ।

तर यसमा सबैको स्वामित्व हुनुपर्छ भनेर नै यसरी छलफल गर्नुपर्ने आवश्यकता परेको हो । यो गुणस्तरीय जीवनसँग जोडिएको विषय हो । यसमा सबैको स्वामित्व भएर नीति निर्माण भयो भने शहरीकरणमा दीर्घकालीन समस्या समाधान हुन्छ ।’

शहरी विकास नीतिले शहरी प्रणाली समुन्नत बनोस् भनेर नीति परिमार्जन र शहरी विकास   ऐन ल्याउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले बताए । 

गण्डकी प्रदेश नीति तथा योजनाका आयोगका सदस्य  रघुराज काफ्लेले नेपालमा शहरीकरणको प्रक्रिया तीव्र बन्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस