पोखराको मेयरमा मन्त्रीदेखि व्यवसायीसम्मको आकांक्षा

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, ११ : १५
पोखराको मेयरमा मन्त्रीदेखि व्यवसायीसम्मको आकांक्षा

पोखरा । आउँदाे ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेद्‌वारका आकांक्षीहरु सलवलाउन थालेका छन् । पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन् भने कसैले सामाजिक सन्जालमार्फत उम्मेद्‌वारी घोषणा गरेका छन् । मेयरका लागि बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीहरुको आकांक्षा छ ।

कस्तो छ अवस्था ?

पोखरा महानगरपालिकामा साविकको एमाले सबैभन्दा बलियो पार्टी हो । मानबहादुर जिसी मेयरमा निर्वाचित हुँदा कांग्रेसका उम्मेद्वार १४ हजार मतान्तरले हारेका थिए । उपमेयरमा १२ हजारको मतान्तर थियो । त्यसमाथी मेयरमा माओवादीको समर्थन कांग्रेसलाई थियो । अहिले एमालेभित्रै माधव नेपालको एकीकृत समाजवादी पार्टी पोखरामा पनि विभाजित भएको छ । देखिने गरी धेरै नेता कार्यकर्ता नभएपनि पार्टी फुटेपछि त्यतिबेलाको मत तलमाथि पक्कै हुनेछ ।

२०७४ को स्थानीय चुनावपछि पोखरामा मात्रै करिब ४० हजार मतदाता थपिएका छन् । त्यसैले चुनावी परिणामको पूर्वानुमानमा हतार गर्नु राम्रो होइन । स्थानीय निर्वाचनको नतिजा उम्मेद्‌वारमा समेत भर पर्छ । एमाले फुटेपनि कास्कीमा जनता समाजवादी पार्टीबाट धेरै नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । नेपालको राजनीतिमा जनता र मतदाता सधैँ सत्ताको विपक्षमा उभिने भएकोले केही मत त्यहाँबाट पनि तलमाथी हुन्छ । समग्रमा हालसम्मको अवस्था हेर्दा पोखराको भावी मेयर पनि सम्भवतः एमालेकै भागमा पर्न सक्छ ।

को को छन् आकांक्षी ?

हालका मेयर मानबहादुर जिसी बिरामी छन् । उनले मेयर दोहोर्‍याउने सम्भावना निकै कम छ । त्यसैले एमालेबाट अहिलेकी उपमेयर मन्जुदेवी गुरुङ मेयरको प्रमुख दाबेदार हो । त्यसो त गुरुङ अघिल्लो निर्वाचनमै सामान्य आंकलनभन्दा बाहिरबाट आएकी थिइन् । एमालेले आन्तरिक प्रतिस्पर्धा गरेर उम्मेद्वारको सिफारिस केन्द्रमा पठाएको थियो । तत्कालीन समयमा प्रभा कोइरालाले सबैभन्दा बढी मत ल्याएकी थिइन्, कोइरालाको सट्टा गुरुङले टिकट पाइन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मितिनी भएकोले सम्भावना बढी छ । जिसी भने सर्वाधिक मत ल्याएरै मेयरको टिकट पाएका हुन् ।

एमालेबाट होटल व्यवसायीसमेत रहेका भरत पहारी, पुष्प अधिकारी, दीपक पौडेल, भीम कार्कीसहित प्रदेश सांसदहरू कृष्णबहादुर थापा, राजीव पहारी पनि मेयरको चर्चामा छन् । तर सांसदहरूले मेयरको टिकट पाउँदा आफ्नो पद राजीनामा दिनुपर्छ । उपमेयरमा भने अहिलेसम्म खासै चर्चा सुनिएको छैन । केन्द्रीय सदस्य मिना गुरुङले दुईमध्ये एक पदका लागि लविङ गरिरहेको सुनिन्छ । ‘अहिलेसम्म हेर्दा पोखरालाई चलाउन अनुभव, ज्ञान, सीप र अन्तर्राष्ट्रिय समन्वयसमेत आवश्यक देखियो । त्यो सबैलाई जगजाहेर भइसकेको कुरा हो,’ सांसद थापा भन्छन्, ‘मेरो आकांक्षाभन्दा पनि पोखरेलीहरुले नै अब तपाईं आउनुपर्छ भन्नुभएको छ । पार्टीले के निर्णय लिन्छ हेरौं ।’ उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरसमेत हुन् ।

कांग्रेसबाट यसअघि मेयरका उम्मेद्‌वार रामजी कुवँरको निधन भएको छ । यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ अहिले मेयरका लागि प्रमुख दाबेदार हुन् । शेरबहादुर देउवानिकट मानिने गुरुङ मेयरको टिकटका लागि दौडधुप गरिरहेकी छिन् । अधिकांश नेताहरू पराजित भएपछि हराउने चलनका अपवाद गुरुङ टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय छिन् । उनलाई कांग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ ।

‘टिकटका लागि सबैले प्रयास गर्छन् र गर्नुपर्छ । उपमेयरमा पराजित भए पनि मैले सक्रियता छोडेको छैन,’ उनले भनिन्, ‘महिला पनि मेयर बन्न सक्छन् भन्ने उदाहरण पेस गर्न मन छ । मेयर बनेर पोखरालाई व्यवस्थित सहरको रुपमा स्थापित गर्ने मेरो चाहाना हो ।’ कांग्रेसबाट हाल प्रदेशका सन्चार तथा कानुनमन्त्री विन्दुकुमार थापा मेयरमा उठ्ने तयारीमा रहेको बुझिएको छ । ‘मन्त्रीबाटै राजीनामा दिएर चुनाव लड्ने कुरा त्यति राम्रो नहोला तर पार्टीले उपयुक्त ठान्यो भने म मेयरको आकांक्षी हुँ,’ उनले भने ।

उनले मेयरकै तयारी स्वरुप स्थानीय स्तरमा आफ्ना गतिविधि तीव्र पारेका छन् । उनलाई मन्त्रीबाट फिर्ता बोलाएर मेयरको उम्मेद्वार बनाउँदा पार्टीभित्रै असन्तुष्टि बढ्ने देखिन्छ । भर्खरै कांग्रेस छिरेका व्यवसायी गणेशबहादुर भट्टराई, निवर्तमान जिल्ला सभापति कृष्ण केसी, पुर्वमन्त्री यज्ञबहादुर थापा र महादेव गुरुङ, नेता वीरेन्द्रनारायण बिजुक्छे, पत्रकार गंगाधर पराजुली लगायतले दाबी गरेका छन् । त्यसबाहेक पूर्व मेयर सूर्यबहादुर केसीका छोरा किरण केसी पनि महानगरको नेतृत्व लिने दाउमा छन् ।

माओवादीबाट विश्वप्रकाश लामिछाने प्रमुख दाबेदार हुन् । उनले यसअघि पनि टिकट पाएर अन्तिममा कांग्रेसलाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिएका थिए । उपमेयरमा पराजित गोमा ढकाल अहिले राजनीतिमा खासै सक्रिय छैनन् । प्रदेश सांसद दीपक कोइराला, बखानसिंह तमु लगायत नेताहरू टिकटको लविङमा छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य र पूर्वजिविस उपसभापति समेत रहेका श्रीनाथ बरालको नाम चर्चामा छ । तर सत्ता गठबन्धन कायम रहे निर्वाचनमा उम्मेद्वारहरु फरक पनि हुन सक्छन् +।

 

प्रतिक्रिया दिनुहोस