आर्थिक तनावका कारण एकै परिवारका पाँच जनाले विष पिए

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, २१ : ३२
आर्थिक तनावका कारण एकै परिवारका पाँच जनाले विष पिए

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ६ रामकोट डाँडापौवास्थित एक परिवारले विष पिएर आत्महत्या गर्नुको प्रमुख कारण आर्थिक तनाव देखिएको छ । घटनास्थलबाट प्रहरीले फेला पारेको सुसाइड नोटबाट आर्थिक तनावका कारण परिवारै आत्महत्या गर्ने स्थितिमा पुगेको खुलेको हो। यद्यपि अनुसन्धान जारी रहेकाले आर्थिक कारण मात्रै हो वा अन्य कारण पनि छन् अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनास्थलमा ‘सुसाइड नोट’ भेटिएको बताए। ‘घटनाको कारणभन्दा एउटा फाइनान्सियल कज छ। अर्को रोगको कुरा पनि आएको छ,’ उनले भने, ‘स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। मुख्यतः फाइनान्सियल क्राइसिस देखिएको छ। रोगका सम्बन्धमा औषधि खाइरहेको देखिएको छ। लामो समयदेखि उपचार गरिरहेको देखिएको छ। प्रहरीले विस्तारै कारण पहिल्याउँदैछ।’  

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले व्यवसायमा डुबेपछि सामूहिक मृत्युवरणको निर्णय लिएको जानकारी दिए। ‘ऋणदान र व्यवसाय गर्दा सबै डुब्नुभएछ। त्यसपछि सामूहिक रुपमा बसेर अब हाम्रो कतै केही छैन। हामी बाच्नलाई केही बाँकी छैन भनेर सामूहिक विषादी खाने योजना रहेछ। अन्तिम बाटो मर्ने भनेर औषधि खानुभएछ,’ उनले भने।

उनका अनुसार परिवारका घरमूली ३८ वर्षीय भीममान प्रधानका भतिजा सूर्वणमान प्रधानको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भइसकेको छ। घरमूली भीममानसहित उनकी आमा इन्दिरामाया, ३५ वर्षीया मन्दिरा ११ वर्षीया सुप्रिया प्रधानको उपचार भइरहेको छ।

डल्लुमा आफ्नै घर भए पनि उनीहरु डाँडापौवामा डा। बुद्ध पुरीको घरमा भाडामा बस्दै आएका थिए। सोमबार राति ९ बजेतिर बेहोस फेला परेका उनीहरुलाई प्रहरीले उद्धार गरी मनमोहन अस्पताल पुर्‍याएको थियो। घटनास्थलमा विषादीको बोतल र सुसाइड नोट भेटिएको थियो। नागार्जुनका मेयर बस्नेतले आफूलाई उपचार खर्च तिर्न मनमोहन अस्पतालबाट फोन आएको बताए।‘‘जहाँको बासिन्दा भए पनि नेपालको नागरिक हो। मैले अस्पताललाई जति पैसा लाग्छ म तिर्छु, उहाँहरुलाई बचाइदिनुस् भनेको छु। अस्पतालले पहिला उपचार गर्ने हो, पैसाको चिन्ता नगर्नुस् भनेको छु,’ उनले भने।
 

प्रतिक्रिया दिनुहोस