काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेप तर्फ प्रस्थान गरेको हो ।
यही फागुन १६ गते लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था साथ साथैकी अध्यक्ष प्रजिता कार्कीले बताइन् । उनका अनुसार उक्त टोलीले मङ्गलबार बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विशेष कार्यक्रम गर्नेछ ।
‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित विभिन्न क्षेत्रमा क्रियाशील महिला १३ दिने पदयात्रामा निस्किएको आयोजक संस्थाले जनाएको छ । विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीका मुहान सुक्ने लगायतको कार्य भइरहेको र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
विसं २०२२ मा ‘साथसाथै’को यो अभियान सातै प्रदेशमा पु¥याउने लक्ष्य रहेको उनले जानकारी गराइन् । यसअघि पदयात्रा अघि ‘साथसाथै’ले अन्नपूर्ण आधार शिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ । यो अभियानले जलवायु परिवर्तन र महिलाको मुद्दा मात्रै उजागर नगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
अभियानमा निस्कँदै गर्दा विभिन्न सङ्घसंस्थादेखि अन्य व्यक्तिले समेत सकरात्मक रुपमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । सबैको सहयोगले कार्यक्रम आयोजना हुने अघिल्लो दिनसम्म अभियानमा रहेका सबै जना सकुशल गोरप्सेपमा पुग्नुले पनि अभियानको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष कार्कीले टेलिफोन सम्पर्कमा बताइन् । अभियानका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपीडिसनले लिएको छ । यस्तै अभियानका क्रममा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीसमेत साथमै खटाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, १४ : ५६
लेखकबाट थप