रूसको निसानामा युक्रेनको परमाणु केन्द्र

एजेन्सी

शनिबार, २१ फागुन २०७८, ०८ : ०५
रूसको निसानामा युक्रेनको परमाणु केन्द्र

एजेन्सी । रूसले युक्रेनको परमाणु ऊर्जा केन्द्रलाई समेत आक्रमणको निसाना बनाएको छ। आक्रमणको नवौं दिन शुक्रबार जापोरिज्यास्थित एक परमाणु ऊर्जा केन्द्रमा बम खसाल्दा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ। उक्त केन्द्र युरोपको सबैभन्दा ठूलो परमाणु केन्द्र हो। 

इनरहोदार सहरका मेयर दिमित्रो ओर्लोभका अनुसार परमाणु संयन्त्रको भवन र इकाइहरूमा लगातार बमबारी भएको थियो। ओर्लोभले यसअघि सहरबाहिर रूसी र युक्रेनी सेनाबीच भीषण लडाइँ भएको जनाएका छन्।

रूसी सेनाले ट्यांकहरूको लाइन सहरमा प्रवेश गर्न र प्लान्ट नियन्त्रणमा लिन प्रयास गरेका थिए। तर, बुधबार स्थानीय नागरिक र प्लान्टका कर्मचारीले सडक अवरुद्ध पारेर प्लान्ट जाने बाटो अवरुद्ध गरेका थिए। अवरोध छिचोल्दै शुक्रबार प्लान्टलाई समेत निसाना बनाएको बीबीसीले उल्लेख गरेको छ। 

युक्रेनमा हाल चार आणविक संयन्त्रहरू सञ्चालनमा छन्। जसमा इनरहोदरको जापोरिझ्या प्लान्ट पनि समावेश छ। चेर्नोबिलबाट परमाणु फोहोर पनि यस प्लान्टमा ल्याइने गरेको छ। चेर्नोबिल भने हाल रूसी कब्जामा छ। यसबीच, परमाणु केन्द्रमा आगलागी भएपछि पश्चिमा नेताहरूले रूसले लापरबाहीपूर्ण कार्य गरिरहेको भन्दै निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस