चुनावसम्मै गठबन्धनको पक्षमा उभिए प्रधानमन्त्री देउवा, संयन्त्र बैठकमै गरे प्रस्ताव

प्रकाश सिग्देल

विहीबार, १९ फागुन २०७८, १५ : १५
चुनावसम्मै गठबन्धनको पक्षमा उभिए प्रधानमन्त्री देउवा, संयन्त्र बैठकमै गरे प्रस्ताव

 

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने क्रममा सत्ता गठबन्धन भत्काउने अन्तिम निष्कर्षमा पुगिसकेका थिए। गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न सहयोग नगर्ने देखिएपछि प्रधानमन्त्री देउवा सत्ता गठबन्धन भत्काउने अन्तिम निर्णयमा पुगेका हुन्। त्यसको लागि उनले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने तयारी गरिसकेका थिए। प्रमुख प्रतिपक्षी एमालेले पनि सत्ता गठबन्धन भत्काएर अघि बढे देउवालाई सहयोग गर्ने बताएको थियो।

तर, एमसीसी संसदबाट पास गर्ने अन्तिम समयसम्म एमालेले विश्वासयोग्य र भरोषापूर्ण कुरा नगरेपछि देउवा सत्ता गठबन्धनबाट टाढा जान तयार भएनन्। अन्ततः सत्ता गठबन्धनभित्रबाटै ‘उपाय’ निकालियो, ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पास गर्ने।

नभन्दै फागुन १५ गते संसदबाट १२ बुँदे ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता पारित भयो। प्रधानमन्त्री देउवाले आनन्दको सास फेरे। सत्ता गठबन्धन जोगिएकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सन्तोष माने। भलै आआफ्नो दलभित्र एमसीसीलाई लिएर असन्तुष्टि किन नबढोस्, दुई नेताले आफूहरुको सफलता देखे।

सत्ता पक्षीय पाँच दलको गठबन्धनबाट जनमोर्चा नेपालले आफू अलग भएको प्रतिक्रिया दियो। जनमोर्चा एमसीसीविरोधी सडक संघर्षमा रहेको चार दल र दुई मोर्चामा आवद्ध हुँदै आएको छ।

दलहरुलाई विभाजित बनाएको एमसीसी पास भएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन र त्यसअन्तर्गत रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग र समर्थन गरेकामा गठबन्धनमा आवद्ध दल र दलका शीर्ष नेताहरुप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

संसदबाट एमसीसी पास गर्न आफू सफल भएकोमा उत्साहित देउवाले बैठकमा आगामी निर्वाचनसम्मै सत्ता गठबन्धन अघि बढाउनुपर्ने प्रस्ताव गरेका थिए।

उनले वर्तमान उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नको लागि सत्ता गठबन्धनलाई नै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

तर केही कांग्रेस नेताहरु नै आगामी निर्वाचनमा पार्टीले गठबन्धन गरेर जान नहुने र नजाने बताउँदै आएका छन्। कांग्रेस सभापतिमा पराजित नेता शेखर कोइराला समूहले सभापति एवं प्रधानमन्त्री देउवालाई निर्वाचनमा गठबन्धन नगर्न दबाब दिँदै आएको छ।

प्रधानमन्त्री देउवाको प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले तत्काल समर्थन गरेका थिए। तर संयन्त्रमा रहेका माओवादीका नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका झलनाथ खनालले भने एमसीसी सम्बन्धमा आफूहरुको पुरानै अडान दोहो र्‍याए। सत्ता गठबन्धनको निरन्तरतामा विमति नराखेका उनीहरुले एमसीसी पास गरिएकोमा असन्तुष्टि पोखेको बालुवाटार स्रोतले बतायो।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका थिए।

‘उहाँहरुले ९नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल० १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन, एमसीसी पासै गर्न हुँदैनथ्यो भन्नुभयो’, उनले भने, ‘तर सत्ता गठबन्धनको निरन्तरताको विपक्षमा कुनै कुरा गर्नुभएन।’

उनका अनुसार बैठकमा एमसीसी पारित भएपछिको राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी एमालेलाई संसदमा जारी अवरोध हटाउन आग्रह गर्ने सहमति कायम गरिएको छ।

बैठकमा आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच सहकार्य गर्ने सम्बन्धमा आआफ्ना दलभित्र छलफल गरी के कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे ‘मोडालिटी’ बनाउने विषयमा नेताहरुले छलफल गरेको बुझिएको छ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस वरिष्ठ नेता पौडेल, माओवादी अध्यक्ष प्रचण्ड र श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। 

प्रतिक्रिया दिनुहोस