विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकलाई ५२ करोड सहायता

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १६ : १३
विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकलाई ५२ करोड सहायता

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा मृत्यु, अंगभंग भएका श्रमिकका परिवारलाई सरकारले साढे ५२ करोड आर्थिक सहायता वितरण गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भई सरकारबाट ७ लाख रुपैयाँ लिने श्रमिकको संख्या र आर्थिक सहायता रकम गत वर्षको ६ महिनाको तुलनामा सामान्य वृद्धि भएको छ । गत वर्ष यही अवधिमा आर्थिक सहायता लिनेको संख्या लगभग ६ सय ३१ रहेकोमा चालू आवको सोही अवधिमा लगभग ६ सय ६० पुगेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भई वैदेशिक रोजगार बोडले वार्षिक औसत ७ सय ५० जनाका लागि सहायता दिने गरेकोमा यो वर्षको ६ महिनामा नै ६ सय ६० पुगेको बोर्डले जनाएको छ । गत आवको मंसिर महिनासम्म श्रम स्वीकृति दिएर विदेशमा मृत्यु भएर र बिदामा आएर नेपालमा मृत्यु भएका गरी बोर्डबाट ४० करोड रुपैयाँ आर्थिक सहायता दिएकोमा गत वर्षको पुससम्म सो रकम ४६ करोड रुपैयाँ पुगेको छ ।
वैदेशिक रोजगारी गई बिदामा स्वदेश फर्केर नेपालमा मृत्यु भएका, लकडाउनका कारण सहायता पाउन नसकेका र विदेशमा कोभिडका कारण मृत्युको संख्या बढेसँगै सहायता लिने श्रमिकको संख्या बढेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षमा विदेश, स्वदेश आएका र गत आर्थिक वर्षको दिनुपर्ने गरी ६ सय ६० श्रमिकका लागि ४६ करोड ३७ लाख ४० हजार रुपैयाँ आर्थिक सहायता गरेको बोर्डले जनाएको छ । बोर्डले चालू आर्थिक वर्षको पुससम्म विदेशमा अंगभंग र बिरामी भएका श्रमिकको उपचारका लागि पाँच करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको थियो । यसैगरी सो अवधिमा विदेशमा मृत्यु भई नेपाल ल्याइएका मृतक श्रमिकको शवलाई गृह जिल्ला निःशुल्क ढुवानी गर्न ८६ लाख रुपैयाँ खर्च गरिएको छ ।
कोरोना संक्रमण तथा अन्य कारणले विदेशमा दाहसंस्कार गर्ने श्रमिकका आफन्तलाई सात लाख रुपैयाँबाहेक थप ५० हजार सहायता दिएका कारण चालू आवबाट मृतकलाई दिने आर्थिक सहायताको खर्चसमेत बढेको छ । वैदेशिक रोजगारीमा गई बिदामा स्वदेश फर्केर नेपालमा मृत्यु भएका, लकडाउनका कारण सहायता पाउन नसकेका र विदेशमा कोभिडका कारण मृत्युको संख्या बढेसँगै सहायता लिने श्रमिकको संख्या बढेको हो । विदेशमा दाहसंस्कार गरिएका मध्ये १ सय ५० भन्दा बढी श्रमिकको मृत्यु कोरोना संक्रमणका कारण भएको छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता रकम स्थानीय तहमार्फत निवेदन लिने र नियमानुसार पाउने रकम पीडित श्रमिक एवं परिवारका नजिकका हकदारको खातामा सिधै पठाउन सकिने गरी सफ्टवेयर निर्माण गरिएका कारण सहयोग रकम लिने बढेको बोर्डको भनाइ छ । यसैगरी विदेशमा नै अन्तिम संस्कार गर्ने श्रमिकलाई थप आर्थिक सहायता ५० हजार रुपैयाँ दिने गरेका कारण पनि दायित्व रकम बढेको हो ।
एक वर्षअघि सरकारबाट स्वीकृत भएको कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्वार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका, २०७७ लाई कार्यान्वयनमा ल्याइएपछि उद्धारका लागि पनि दायित्व रकम बढेको छ ।
गत वर्ष कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेकामध्ये मलेसियाबाट ८६, यूएईबाट ५३, बहराइनबाट १८ जना एवं अन्यबाट ३० जना गरी कुल १ ८७ जना अलपत्र श्रमिकको उद्दारका लागि सम्बन्धित नियोगको मागबमोजिम एक करोड ३५ लाख रकम पेश्की पठाई उद्धार गरिएको थियो । उद्वारको क्रममा नेपाल फर्काइएका श्रमिकहरू मध्ये काठमाडौंस्थित होल्डिङ सेन्टरबाट बेखर्ची भई घर जान नपाएका श्रमिकलाई यातायात खर्च सहयोगसमेत उपलब्ध गराइएको बोर्डले जनाएको छ । यी श्रम गन्तव्यबाहेक अन्य विभिन्न मुलुकका तीन महिलासहित ३९ जनाको उद्दारका लागि सहजीकरण गरिएको थियो । बोर्डले कोभिङ–१९ को महामारीका बीच पनि गत आवमा भौतिक प्रगति ८३।३६ प्रतिशत, वित्तीय प्रगति ७२।३ रहेको र बेरुजु फस्र्योट ५५।७३ प्रतिशत हासिल गरेको जनाएको छ । ।  

प्रतिक्रिया दिनुहोस