इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको सहज जित

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १३ : ३३
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको सहज जित

एजेन्सी । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित गरेको हो ।

टर्फ मुर बर्नलेमा गएराति भएको खेलमा लेस्टरको जितमा सब्सिच्युट फरवार्ड जेम्स म्याडिसन र जेमी भार्डीले गोल गरे । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि लेस्टरले गोलको लागि दोस्रो हाफमा सब्सिच्युट फरवार्डको साहरा लिनुपरेको थियो ।

८२औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई १–० को अग्रता दिलाए । ७२औं मिनेटमा युरी टिलेमान्सको स्थानमा मैदान छिरेका म्याडिसनले जेमी भार्डीको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको जित पक्का गरे ।

७२औं मिनेटमा पाटसन डाँकाको स्थानमा मैदान छिरेका भार्डीले हार्भे बार्नेसको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै लेस्टर २४ खेलबाट ३० अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । समान ३० अंक नै रहेपनि लेस्टर गोल अन्तरमा क्रिस्टल प्यालेसभन्दा पछि र एस्टन भिल्लाभन्दा अघि छ ।

क्रिस्टलले दुई तथा भिल्लाले एक खेल बढी खेलेको छ । लेस्टरसँगको हारसँगै बर्नलेलाई रेलिगेसन दवाव बढेको छ । बर्नले २५ खेलबाट २१ अंक जोडेर १८औं स्थानमा रहेको छ । बर्नलेभन्दा मुनि वाट्फोर्ड १९ अंक र नर्विच सिटीको १७ अंक रहेको छ ।