‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु’: मन्त्री लम्साल

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, १५ : ५६
‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु’: मन्त्री लम्साल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले धादिङका सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा काम नगर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका छन् ।

निर्माणाधीन नागढुङ्गा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा लम्सालले सडक क्षेत्रमा रहेका विद्युत्का पोल हटाउन भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् ।

“यो बिजुलीको पोल सार्ने कन्ट्र्याक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँचिदिनु, मतलब भएन,” मन्त्री लम्सालले भने। अनुगमनमा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, आयोजना प्रमुखलगायत सरोकारवाला अधिकारी सहभागी थिए। मन्त्री लम्सालले निर्माण कार्यलाई तीव्रता दिन, आवश्यक निर्माण सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

उनले आयोजनामा देखिएका प्रशासनिक तथा प्राविधिक अवरोध हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय महत्वको नागढुङ्गा-मुग्लिङ सडक आयोजना समयमै सम्पन्न गर्न सरकार, निर्माण कम्पनी, नेपाल विद्युत् प्राधिकरण तथा स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

मन्त्रीको अभिव्यक्तिपछि सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले सडक आयोजनामा भइरहेको ढिलाइप्रति व्यक्त गरिएको असन्तुष्टि र कडा चेतावनीका रूपमा यसलाई व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हिंसात्मक आशय झल्किने भाषा प्रयोग गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस