नेकपा माओवादी केन्द्र फुटबाट जोगिएला ?

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, २० : १७
नेकपा माओवादी केन्द्र फुटबाट जोगिएला ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) भित्र भएको असन्तुष्टि छताछुल्ल भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरुले पार्टीमा असन्तुष्टि बढाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी रुपमा अघि बढेको र एमसीसीलगायत विषयमा आफ्नो पक्षको कुरा नसुनेको भन्दै श्रेष्ठसहितका नेताहरुले आपत्ति जनाएका छन् ।

सोमबार अध्यक्ष दाहालले नेता श्रेष्ठलाई ‘पार्टी छोडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएको छ । श्रेष्ठ पक्षधरहरुको आक्रोश चुलिँदै‌ गएपछि मंगलबार अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए ।  उनीहरुबीच पार्टीमा पछिल्लो समय देखा परेको विवाद र आगामी केन्द्रीय समितिबारे छलफल भएको छ ।

प्रतिनिधिसभाले एमसीसी पारित गरेको र त्यसमा माओवादीले समर्थन गरेको विषयलाई श्रेष्ठले सार्वजनिक रूपमा पार्टी निर्णयभन्दा फरकरूपमा आलोचना गर्दै आएका थिए । पार्टी निर्णयविपरीत श्रेष्ठले बोलेको विषयलाई लिएर अध्यक्ष दाहालले सोमबार पत्रकार सम्मेलनमा ‘पार्टी छोडेर गए हुन्छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति श्रेष्ठले असन्तुष्टि जनाएका थिए।

एक केन्द्रीय सदस्यका अनुसार आफ्नो निवासमा आएका अध्यक्ष दाहाललाई श्रेष्ठले पार्टी छोडेर जान भनेको हो भनेर प्रश्न गरेका थिए ।  ‘अध्यक्षले आवेशमा आएर बोलेको हो, पार्टी छोडेर जाने कुरा भनेको होइन भन्नुभएको थियो । अध्यक्षले मिलेर पार्टी चलाउनुपर्छ भन्नुभएको छ’ ती केन्द्रीय सदस्यले भने । ती केन्द्रीय सदस्यका अनुसार दाहालले पार्टीभित्रका कमीकमजोरीको समीक्षा गरेर जानुपर्ने भन्दै आफ्ना कुरा केन्द्रीय समितिमा राख्न भनेका थिए ।

प्रचण्डले नारायणकाजीलाई फकाउँदै आफूले त्यसो नभनेको जवाफ दिएका थिए। ‘होइन, मैले त्यस्तो केही भनेको होइन। अलग सन्दर्भलाई लिएर भनेको कुरा पार्टीको धारणा होइन’ प्रचण्डले भने, ‘अहिले हामी सबैले यताउता सोच्नु भन्दा पार्टी एकता जोगाएर हाम्रा मतभेदहरूबारे बैठकमा छलफल गरौँ, मन माझामाझ गरौँ।’ प्रचण्डले पार्टी छाड्ने कुरा नसोच्न आग्रह गर्दै फेरि पनि छलफलमा बस्न आग्रह गरेका थिए। 

यसबारेमा नारायणकाजीले आफूनिकट नेता कार्यकर्ताहरूलाई ब्रिफिङ गरेका छन्। पार्टीमै बस्ने या नयाँ यात्रा थाल्ने कुराको निर्णय प्रचण्डसँग अर्को पटक हुने छलफलले निर्धारण गर्ने पनि उनले बताएका थिए।  ‘प्रचण्डजीले फेरि बसौँ भन्नु भएको छ। अध्यक्ष कमरेडसँग दोस्रो चरणमा बसेपछि थप छलफल गरौँला’ उनले आफूनिकट नेताहरुलाई भने, ‘म एक पटक फेरि प्रचण्डसँग बस्छु अनि थप छलफल गरेर हामी निर्णयमा पुगौँला।’
 

प्रतिक्रिया दिनुहोस