विवेकशील साझाका सुदूरपश्चिम प्रदेश संयोजक हमालले पार्टी छोडे

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १६ : २०
विवेकशील साझाका सुदूरपश्चिम प्रदेश संयोजक हमालले पार्टी छोडे

काठमाडौं । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् । मंगलबार हमालले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । 

कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाले फेरि स्वतन्त्र रुपले मेयरको दावी गर्न सुझाव दिएकोले आफू अन्तिमपटक धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र रुपले स्थानीय निर्वाचन लड्ने तयारी सहित रहेको हमाल जानकारी दिए । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरबाट मेयरका प्रत्यासी थिए । जहाँ नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड निर्वाचित हुँदा उनी निकटतम प्रतिस्पर्धी बनेका थिए । 

‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगरपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन्,’ राजीनामा पत्रमा उल्लेख छ, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

हमाल २०७४ साउन २८ गतेदेखि विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी पाएका थिए । 

प्रतिक्रिया दिनुहोस