राजमार्ग  ‘अन्डरपास’ वन्यजन्तुमैत्री भएन

पत्रपत्रिकाबाट

शनिबार, १४ फागुन २०७८, ०८ : १०
राजमार्ग  ‘अन्डरपास’ वन्यजन्तुमैत्री भएन

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माण गरिएको अन्डरपास (सडक तलबाट ओहोरदोहोर गर्ने ठाउँ) जनावरमैत्री नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण गरिएको अन्डरपासमा न्यून सङ्ख्यामा साना जनावरले वारपार गरेको अध्ययनले देखाएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डको आँपटारी–पानी ट्याङ्की क्षेत्रको घुम्ती र रामनगर–भतेरी जङ्गलमा अन्डरपास निर्माण गरिएको छ । नेपालमा नै पहिलो पटक सडकमुनिबाट वन्यजन्तु आवतजावत गर्न मिल्ने गरी अन्डरपास बनाए पनि ज्यादै न्यून सङ्ख्यामा वन्यजन्तु वारपार गरेको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले जानकारी दिए ।

अन्डरपास निर्माणपछि हामीले क्यामरा राखेर अध्ययन गरेका थियौँ, उनले भने, साना वन्यजन्तुबाहेक अन्यले वारपार गरेको पाइएन । जुन उद्देश्यले निर्माण गरिएको हो त्योअनुसार जनावरको आवतजावत भएन, प्रमुख लामिछानेले भने, “चित्तल, बँदेललगायतका साना जनावर गएको देखिन्छ, अन्य वन्यजन्तु त्यहाँबाट पार भएका छैनन् । ” एक पटक त्यो अन्डरपास प्रयोग गरेकाले पुनः गरेको पाइएको छैन उनले भने ।

कोषका अनुसार चितवनमा मात्रै सडक पार गर्ने क्रममा सवारीसाधनको ठक्करबाट एक वर्षमा एक सय ४६ वटा जनावर मरेका छन् । भारतमा संरक्षित क्षेत्रमा सडक निर्माण गर्दा १० किलोमिटर सडकमा एक किलोमिटर लामो अन्डरपास बनाउनुपर्ने नियम छ तर नेपालमा वन्यजन्तुमैत्री विकास निर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको प्रमुख लामिछाने बताउछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले निर्माण भएको अन्डरपास जनावरमैत्री नभए पनि सिकाइका रूपमा लिएको बताए । निर्माणको क्रममा हामीले अनुगमन गरेका थियौँ, त्यही समयमा मैले यो साँघुरो र निर्माण गरिएको स्थानसमेत उपयुक्त नभएको जानकारी दिएको थिएँ तर कार्यान्वयन भएन, उनले भने, एकातर्फ जङ्गलसम्म स्थान अर्कोतर्फ खाडल छ यस्तो ठाउँबाट जोखिम मोलेर जनावर वारपार गर्दैनन्, कँडेलले भने, “ढुङ्गा थुपारेर तारजाली लगाइएको छ । ” गोरखापत्र दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस