इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइयो, हंगामा

एजेन्सी

मंगलबार, २५ बैशाख २०७५, १० : २५
इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइयो, हंगामा

जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो । बेन्यामिनका नीजि र इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेवले शानदार डिनरको अन्त्यमा चकलेटले बनेको ‘जुत्ता’ मा डेजर्टलाई पेश गरे । जापानी संस्कृतिमा जुत्तालाई निकै अपमानजनक मानिन्छ ।

आबेले जुत्तामा पेश गरिएको खानालाई कुनै हिच्किचाहट बिना खाए तर जापानी र इजराइली कुटनीतिज्ञलाई भने यो कुरा पचेन । जापानमाथि निगरानी राख्ने विश्लेषक पनि त्यहाँका प्रधानमन्त्रीलाई खानामा जुत्तामा दिएको देखेर अचम्मित भए ।

जापानी संस्कृतीमा जुत्ताः
जापानमा लामो समयसम्म रहेका एक वरिष्ठ कुटनीतिज्ञले इजराइली पत्रिका येदियोत अहरानोतले यसलाई अपमानजनक र मुर्खताले भरिएको निर्णय बताए ।

उनले भने, ‘जापानी संस्कृतीमा जुत्ताभन्दा तुच्छ केही वस्तु छैन । जापानमा घरभित्र मात्र नभई अफिसमा पनि जुत्ता बाहिर राखिन्छ । यहाँसम्म कि प्रधानमन्त्री र अन्य कुनै मन्त्री वा सांसद पनि आफ्नो अफिसमा छिर्नुपूर्व जुत्ता बाहिरै फुकाल्छन् । यो कुनै यहुदी पाहुनालाई सुँगुरको मुखमा खाना पस्किएको जस्तै हो ।
एक जापानी कूटनीतिकले येदियोतसँग भने, ‘कुनै पनि संस्कृतिले जुत्तालाई खानाको रुपमा स्विकार गर्दैन । आखिर ती शेफको दिमागको के चलिरहेको थियो ? यदि यो ठट्यौली थियो भने हामीलाई यो मज्जा लागेन । हामी हाम्रा प्रधानमन्त्रीमाथि गरिएको यस्तो व्यवहारका कारण रुष्ट छौं ।’ शेफ सेगेवले आफ्नो सोसल मिडिया प्रोफाइलमा डिनरसँग सम्बन्धित तस्बिर राखेका थिए । यसमा जुत्तामा पेश गरिएको डेजर्ट पनि समावेश थियो ।

एक प्रयोगकर्ताले उक्त तस्बिरमा टिप्पणी गरेका छन्, ‘तपाईंले अहिलेसम्मकै सबैभन्दा ठूलो गल्ती गर्नुभएको छ ।’ एक अन्य प्रयोगकर्ताले लेखे, ‘यो देशले यो कुरालाई कहिले बिर्सने छैन । सेगेव म तिमीलाई निकै माया गर्दथें तर तिमीले हामीलाई लज्जित बनायौ ।’ थुप्रै अवार्ड जितिसकेका शेफ सेगेव इजराइलका प्रमुख रेष्टुरेन्टका मालिक हुन् । अनेकौं किताब लेखिसकेका उनी टेलिभिजन सेलिब्रिटी हुन् । उनी इआइ एआई एयरलाइन्सका मुख्य शेफ पनि हुन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस