विषाक्त घरेलु मदिराको सेवनबाट एघार जनाको मृत्यु

सोमबार, २४ बैशाख २०७५, १६ : ०४
विषाक्त  घरेलु मदिराको सेवनबाट एघार जनाको मृत्यु

न्हेमपेन्ह । कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ ।
कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकोले उक्त मदिराको सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ । उक्त मदिरा सेवनका कारण अन्य १३८ व्यक्ति बिरामी भई अस्पताल भर्ना भएका पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

चिटबोरे जिल्लाको स्रेनोन र आलोच गाउँको कान्टुओट समुदायमा सो दुर्घटना भएको जारी विज्ञप्तिमा थप जानकारी दिइएको छ । सो मदिरा सेवनबाट पेटदुख्ने र वान्ता हुने जस्ता समस्या आएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुमध्ये ११ जनाको अस्पतालमै मृत्यु भएको बताइएको छ । उपचारको लागि भर्ना  भएकाको स्वास्थ्य अवस्थामा गरिएको अनुसन्धानबाट उक्त मदिरा नै विषाक्त पाइएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस