अब पत्रकारको तलब बैंक खाताबाट मात्र : राज्यमन्त्री बाँस्कोटा

सोमबार, २४ बैशाख २०७५, १५ : ३०
अब पत्रकारको तलब बैंक खाताबाट मात्र : राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र सञ्चार क्षेत्रको पारदर्शिताका लागि सरकारले आउँदो नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “पत्रकारलाई खाममा तलब दिने प्रथा अबदेखि बन्द गराउन लागेका छौँ ।”

उहाँले मुलुकको समृद्धि र सुशासन भएमा पत्रकारिता क्षेत्र पनि समृद्ध हुने तथा साना लगानीका पत्रिकाले पनि सहजरुपमा विज्ञापन पाउने भन्दै विज्ञापन प्राधिकरण गठन गरी यस क्षेत्रलाई व्यवस्थित गरिने जनाउँदै सञ्चार क्षेत्रले आलोचनात्मक चेतनाका साथ भ्रष्टाचार र दलालीकरणलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले सरकारको सुशासन र समृद्धिका कार्यक्रममा सञ्चार माध्यमले सघाउनुपर्ने बताउनुभयो । प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासंघमा सहमति र निर्वाचनका माध्यममा प्रदेश संरचना बनेको खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले महासंघको नवनिर्वाचित उपत्यका प्रदेशका अध्यक्ष एनके दाहाल, प्रतिष्ठान प्रदेशका अध्यक्ष शेखर अधिकारी, एशोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानालगायत पदाधिकारीलाई बधाई र शुभकामना दिनुभएको थियो । यही वैशाख २२ गते महासंघको प्रदेश निर्वाचन सम्पन्न भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस