अब बस्ने एकता संयोजन समिति बैठकले पार्टी एकतालाई टुंगोमा पुर्‍याउँछ : प्रचण्ड

सोमबार, २४ बैशाख २०७५, १३ : ४६
अब बस्ने एकता संयोजन समिति बैठकले पार्टी एकतालाई टुंगोमा पुर्‍याउँछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकबाट एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुर्‍याउँने बताएका छन् । अध्यक्ष दाहालले पार्टी एकतालाई टुंगोमा पुर्‍याउँने विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि जनाएका छन् ।

सोमबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले केही दिन भित्रै बस्ने संयोजन समिति बैठकले पार्टी एकतालाई टुंगोमा पु¥याउँने धारणा अध्यक्ष दाहालले बैठकमा राखेका माओवादी केन्द्र संसदीय समितिले जनाएको छ ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको पनि बताएका थिए । बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो । संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको थियो ।

बैठकमा सांसदहरुले पार्टीको घोषणा पत्र अनुसार बजेट निर्माण गर्न ध्यान दिन पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको गम्भिर ध्यानकर्षण गराएका थिए । बजेट निर्माणका लागि आवश्यक रचनात्मक सुझाव दिन पनि बैठक बोलाइएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।

भोलि विहान बस्ने संसदीय दलको बैठकमा अध्यक्ष दाहालले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आवश्यक निर्देशन दिने कार्यसूचि तय गरिएको माओवादी केन्द्र संसदीय समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस